काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्रेस कोशी प्रदेश समिति अध्यक्ष उद्धव थापाले आफूलाई मुख्यमन्त्री नमाने पनि हुने बताएका छन्। आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेका बेला सरकार गठनप्रति प्रश्न उठाएको भन्दै उनले आफूलाई मुख्यमन्त्री नमानेर हिक्मत कार्कीलाई नै मुख्यमन्त्री मान्दा हुने बताएका हुन्।
झापाबाट प्रतिनिधित्व गर्ने नेता थापा मुख्यमन्त्री बन्दा संविधानको प्रावधान उल्लंघन भएको भन्दै झापाकै अर्का नेता केशवकुमार बुढाथोकीले केन्द्रीय समिति बैठकमा नै बुधबार प्रश्न उठाएका थिए। सोही विषयप्रति लक्षित गर्दै कोशीका मुख्यमन्त्री थाापाले आफूलाई मुख्यमन्त्री नमानेर एमालेका निवर्तमान मुख्यमन्त्रीलाई नै मुख्यमन्त्री मान्न चेतावनी दिएका हुन्। बुधबार बुढाथोकीको प्रश्न र बुधबार थापाले दिएको उत्तर रोचक थियो।
‘प्रदेशसभाको सभामुख सभामुख मात्र होइन। प्रदेशसभाको सदस्य पनि हो। सदस्यको एउटा भूमिका हुन्छ। सभामुखको अर्को,’ थापाले भने, ‘सभाको अध्यक्षता गरेको बेला उहाँले मत हालेको भए गल्ती हुन्थ्यो। तर सभा नचलेका बेला उहाँले सही गर्नुभएको हो। एउटा सदस्यको नाताले डेडलक तोडेको हो उहाँले। तपाई (केशवकुमार बुढाथोकी)ले हिक्मतलाई मुख्यमन्त्री मान्नू, मलाई नमाने हुन्छ।’
कोशी प्रदेशको सरकारलाई दीर्घकालीन असर नपर्नेगरी काम गर्न अदालतले आदेश दिएको पनि उनले बैठकमा स्मरण गराएका थिए। ‘हिजो लिखित जवाफ पेश गर्ने काम भएको छ। अदालतले न्याय गर्नेछ भन्ने विश्वास छ,’ आशामुखी देखिएका मुख्यमन्त्रीसमेत रहेका कोशी प्रदेश अध्यक्ष थापाले भने, ‘केशव बुढाथोकीले सरकारमाथि प्रश्न गर्नुभएको सुनेँ। यही संगठनभित्र बसेर हाम्रो पार्टीको सरकार नबनोस् र बनेको सरकारलाई प्रश्न गर्ने कुराले कांग्रेस कार्यकर्ताको मनोबल घटाएको छ।’
अघिल्लो चुनावमा झापा २ मा गठबन्धनका उम्मेदवार हराउने काम बुढाथोकीले गरेको पनि उनले आरोप लगाएका थिए। चुनावका बेला भागेर अस्ट्रेलिया गएको, देउमान थेबेलाई भोट नदेऊ भनेर कार्यकर्तालाई म्यासेज गरेको रेकर्ड आफूसँग भएको थापाले जिकिर गरे।
‘यस्ता नेतालाई कारबाही गर्नुपर्छ। उहाँ भागेर अस्ट्रेलिया पुगेर फोन गरेर गठबन्धनका उम्मेदवारलाई भोट नदेऊ भन्नुभएको छ। हामीले पार्टीका लागि घरको भात खाएर गोजिको पैसा हालेर काम गरेका छौं,’ उनको माग छ।


