काठमाडौँ- गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारले श्रमिकसँग उठाएको रकम दुरुपयोग गरेको आरोप लागेको छ। एनसीसी कतारले अधिवेशन नजिकिइरहेको समयमा सन् २०२१-२३ कार्यकालका समिति सदस्यहरूले संस्थाको रकम हिनामिना गरेको आरोप लागेको हो।
संघको आगामी अधिवेशनका लागि परिषद् सदस्यहरूको संख्या ८ हजार ९५१ बाट सदस्य शुल्क २ लाख २३ हजार ७७५ कतारी रियाल उठाएको बताइएको छ। यसैगरी एक सदस्य बराबर ३ अमेरिकी डलरको दरले एनआरएनए आईसीसीका लागि करिब ३९ लाख रुपैयाँ रकम उठाएका छन्। कतार एनसीसीका वर्तमान सदस्यहरुले नै यसप्रति असन्तुष्टि व्यक्त गर्दै श्रमिकसँग उठाएर ३९ लाख रुपैयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)लाई दिन खोजिएको भन्दै त्यसको कारण माग गरेका छन्।
विशुद्ध सामाजिक संस्थालाई दोहा र अन्तर्राष्ट्रिय नेताहरूले राजनीतिकरण गरी आसपासे पोस्ने भर्ती केन्द्र बनाएको आरोप उनीहरुले लगाएका छन्। एनसीसी कतारका कार्यसमिति सदस्य समेत रहेका सन्तोष पौडेलले संस्था गलत बाटोतर्फ हिँडिरहेको आरोप लगाए।
‘श्रमिकमैत्री संस्था भन्ने भनेर श्रमिकहरूको नाममा जथाभावी रकम संकलन गरेर त्यसको चरम दुरुपयोग गर्न खोजिँदै छ। हामीले कस्तो श्रमिकमैत्री एनआरएनए एनसीसी बनाउन खोजेका हौँ?’ उनको प्रतिप्रश्न छ। बागलुङ सेवा समाज कतारका अध्यक्षसमेत रहेका उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैको साझा संस्था बनाएर अगाडि बढ्न समेत उनको आग्रह छ।
हाल दोहामा दुई एनआरएनए एनसीसी छन्। एनआरएनए आईसीसीमा एकतासम्बन्धी चर्चाहरु सतहमा छन्। दुवै पक्षसँग आवश्यक समन्वय र सहकार्य विना नै एकपक्षीय ढंगबाट अगाडि बढ्न खोजिए आगामी कार्यकालमा थप बेथिति बढ्ने भन्दै आलोचना पनि भइरहेको छ।
१८ जुनाई साँझ बसेको बैठकले निर्वाचनको घोषणा गरिसकेको छ। निर्वाचन समिति र वर्तमान कार्यसमितिले करिब १० हजार डलर अर्थात् १३ लाख नेपाली रुपैयाँ पर्ने अस्ट्रेलियन सफ्टवेयर खरिद गरी निर्वाचन गराउने तयारी गरिएको छ। यस्तै, २८ जुलाईमा एक तारे होटलमा हुने महाधिवेशन खर्च समेत श्रमिककै पैसाबाट व्यहोर्ने खुलासा भएपछि नेपाली श्रमिकले दु:ख गरेर आर्जन गरेको पैसाको दुरुपयोग गर्न खोजिएको आरोप कार्यसमितिमाथि लागेको छ।


