पर्वत–पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन्। बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन्। पहाडै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सय बढी घर जोखिममा परेको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए।
गत ११ असार राती कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ। पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए।
स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए। ‘पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ’, उनले भने, ‘अकासबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ।’
पहिरोले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बढाएको छ। स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए। ‘यसअघि जंगल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ’, उनले भने, ‘वराहताल परिसरमा रहेका दुई मन्दिर पनि जोखिममा परेका छन्। पौवाभित्र बाढी पसेको छ।’
स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ। मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ। लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइँ गर्न पाएका छैनन्। खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ। पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए।
‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्’, उनले भने, ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ।’ मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए।
२०७२ भूकम्पपछि यो पहाड चर्किन थालेको हो। यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए। पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समय यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ।



