काठमाडौं – फुटबल विश्वकपमा सबैभन्दा पहिले समूह ए को खेल आयोजना गर्ने परम्परा छ। अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला फुटबल विश्वकपमा पनि समूह एको दोस्रो चरण सकियो। पहिलो खेलमा स्विट्जरल्यान्ड र न्युजिल्यान्डले जित निकालेर नकआउटमा पुग्ने बाटो सहज बनाएका थिए।
तर दोस्रो चरणमा नतिजा फरक निस्कियो। यि दुवै टिमले जित निकाल्न सकेनन्। अझ सहआयोजक समेत रहेको न्युजिल्यान्डले त अविश्वसनीय हार नै बेहोर्यो। घरेलु दर्शकमाझ एसियाली देश फिलिपिन्सले न्युजिल्यान्डलाई स्तब्ध पार्नु उसका लागि ऐतिहासिक जित थियो।
उसको विश्वकपमा पहिलो जित र पहिलो गोलसमेत थियो। एकमात्र गोल किन नहोस्। खेलको २४ औं मिनेटमै सरिना बोल्डेनले गोल गरेपछि आयोजक टिम एक गोलले पछि परेको हो।
त्यसपछि ६९ प्रतिसत समय बल आफ्नो नियन्त्रणमा लिएर न्युजिल्यान्डले गोलको भरमग्दुर प्रयास गर्यो। तर, फिलिपिन्सले त्यो गोलको जोडतोडका साथ बचाउ गर्यो। फिलिपिन्सको बचाउका अघि न्युजिल्यान्डका १६ प्रहार नै विफल भएका थिए। यससँगै यो समूहमा अहिले फिलिपिन्स न्युजिल्यान्डको बराबरीमा आएको छ।
आजै भएको अर्को खेल चाहिँ नर्वे र र स्विटजरल्यान्डको थियो। स्विट्जरल्यान्ड लगातार जित निकाल्दै नकआउटमा पुग्ने योजनामा थियो। तर उसको त्यो प्रयास सफल हुने सकेन्। किनभने दुवै टिमले गोल गर्न सकेनन्।
पहिलो खेलमा हार बेहोरेको नर्वे वर जित निकालेको स्विट्जरल्यान्डले गोलरहित बराबरी खेलेपछि दुवै टिमले एक एक अंक बाँडेका छन्। अब, यो बराबरीले त एक अंक भएको नर्वेसँग पनि अर्को चरणमा पुग्ने गणितिय सम्भावना बाँकी रहन्छ। त्यसैले दोस्रो चरण सकिँदा पनि चारमध्ये चारै टिमको नकआउटमा जाने सम्भावना कायमै छ।
तलिकामा हेर्दा अहिले स्विट्जरल्यान्डको चार अंक छ। अर्को चरणमा जानका लागि उसलाई बराबरी पनि काफि हुनेछ। त्यसैगरि फिलिपिन्स र न्युजिल्यान्डको लागि पनि जित वा बराबरी आवश्यक छ। नर्वेसँग भने जितको विकल्प छैन।
त्योभन्दा रोमाञ्तक कुरा त के भने अब आउने खेलमा तालिकाको पहिलो र दोस्रो स्थानको स्विट्जरल्यान्ड र न्युजिल्यान्डले खेल्नेछन्। यि दुवै टोली नकआउटका दावेदार हुन्। त्यसैगरि तेस्रो र चौथो स्थानका फिलिपिन्स र नर्वे भिड्नेछन्। अबको खेलमा जित निकाल्न नसक्ने हो भने १९९५ विश्वकपको विजेतासमेत रहेको नर्वे समूह चरणबाटै बाहिरिन खतरा हुनेछ, त्यसो भएमा फिलिपिन्स भने पहिलो पटक विश्वकपको नकआउटमा पुग्नेछ।


