ताप्लेजुङ–कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ। कांग्रेसले आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो। गत ३२ जेठदेखि असार पहिलो सातासम्म अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण गरिँदै आएको हो।
सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घरपरिवारलाई राहत वितरण भइसकेकोे तरुण दलका ताप्लेजुङका कार्यवाहक सभापति पृथ्वी पालुंवाले जानकारी दिए। उनका अनुसार प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ। यस्तै, आज सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिनेछ।
यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई सो पार्टीले राहत वितरण गरेको थियो। कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्थालगायतबाट राहतका लागि सहयोग रकम संकलन गरेको थियो। कोसी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हांगामले समेत राहत वितरणका लागि सहयोग गरेका छन्।
बाढीपहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताए। जिल्लामा बाढीपहिरोबाट चार सय बढी परिवार प्रभावित बनेका छन्।



