काबुल- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादस्थित जिल्ला अदालतका अतिरिक्त न्यायाधीश हुमायुन दिलावारको इजलासले उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो।
सरकारी उपहार बेचेर कमाएको पैसा घोषणा नगरेकोमा खानलाई अदालतले दोषी ठहर गरेको हो। उनलाई एक लाख रुपैयाँ जरिमाना गर्न पनि आदेश दिइएको छ। उक्त जरिमाना नतिरेमा थप ६ महिना सजाय गर्न आदेश छ।
कैद सजायको निर्णय आउने बित्तिकै अदालतको भवन बाहिर इमरान खानविरुद्ध नारा लागेको थियो। अदालतले तीन वर्षको कैद सजाय सुनाएपछि प्रतिक्रिया दिँदै खानले पुनरावेदन गर्ने बताएका छन्।
प्रहरीले पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित घरबाट हिरासतमा लिएको छ। खान सन् २०१८ मा निर्वाचित भएका थिए, तर गत वर्ष उनले संसदमा विश्वासको मत जुटाउन सकेका थिएनन्।


