राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामा नेपाल कराँते महासंघको अध्यक्ष चयन भएका छन्। शनिवार भएको महासंघको महाधिवेशनले लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हाे। महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय समिति समेत निर्विरोध चयन गरेको छ।
यसअघि कराँतेका दुई संघ थिए। त्यसमध्ये एक संघले मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको थियो भने दुवै संघलाई राखेपले मान्यता दिएको थियो। तर, राष्ट्रिय खेलकुद विकास ऐन अनुसार एक खेलको एकमात्र संघ रहने पाउने व्यवस्था छ। त्यसैले राखेपले गत माघ १२ गते ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो।
लामा अघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरेर जिम्मेवारी प्रदान गरिएको थियो। तर ४ वर्षसम्म आचार्य नेतृत्वको समितिले महासंघको विधान संशोधन तथा निर्वाचन गर्न नसकेपछि राखेपले करातेका पूर्व खेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको थियो।
त्यसबेला लामाले अध्यक्षको पत्र ग्रहण गरेपछि राखेपले दिएको समय सीमा भित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। लामा नेतृत्वको समितिको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। यस्तै दावा गुरुङ महासचिव, ध्वजमान मोक्तान र बलराम मित्र सचिव तथा किशोरप्रसाद भट्टराई कोषाध्यक्षमा चयन भएका छन्। रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भए।


