काठमाडौँ- थ्री-स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री-स्टार अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९औं मिनेटमा दीपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन्।
खेलको एसपीए ‘म्यान अफ दी म्याच’ गुरुङ घोषित भएका छन्।
जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ। थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ।
प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउसो ३ः३० बजे सुरु हुनेछ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो।
प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता छ। चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ।


