काठमाडौं- जनकपुरकी २२ वर्षीया आरती साहलाई न्याय दिनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा पुगेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ।
मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जना पुरुष र २ जना महिलासहित २० जनालाई नियन्त्रणमा लिएको हो।
गत ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुन लाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
आरती हत्याको आरोपमा, परेको जाहेरीको आधारमा श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन अहिले पुर्पक्षका लागि थुनामा छन्। बाबुछोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हत्या आरोपमा आरतीको माइती पक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए।
आरतीको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन्।
तर प्रहरीले आरतीका आफन्तलाई उनले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाब दिएको थियो।

तर माइती पक्षले भने आरतीले आत्महत्या गरेको नभएर उनको घरमै हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानमा मृतकको पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध असार १ गते ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
दुई वर्ष अगाडि विवाह भएको आरतीलाई पटक पटक थप दाइजो माग्न उनको पति मोतीबाबु साहको परिवारले दबाव दिदै आएको र आरतीलाई दाइजोकै कारण हत्या गरेको आरतीको माइती पक्षको दाबी छ।








