काठमाडौँ- मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु भएको हो।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ।
राजस्व अनुसन्धान विभागले यही साउन २ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो। उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ।










