काठमाडौं– २०७८ मंसिरमा चितवनमा सम्पन्न एमाले महाधिवेशन स्थलमै अध्यक्ष पदको घोषणा गरेर मैदानमा उत्रिएपछि केपी ओलीको तगारो बन्दै आएका नेता भीम रावल साढे दुई वर्ष राजनीतिक रुपमा निष्कृय देखिए। उक्त महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल पराजित भए निवर्तमान अध्यक्ष निर्वाचित भएर ओलीले नै अध्यक्ष बने।
कम्युनिस्ट पार्टीमा अध्यक्षलाई चुनौती दिँदा उसको राजनीतिक करियर कसरी नासिन्छ भन्ने उदाहरण पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हेरे पुग्छ। भीम रावलमा पनि त्यस्तै भयो। ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेपछि निशानामा परिरहे। फलतः सुदूरपश्चिमको एमाले कमान्डिङ उनको हातबाट फुस्काइयो। सुदूरपश्चिममा माओवादीबाट भित्रिएका लेखराज भट्टहरुलाई काखी च्यापेर अध्यक्ष ओलीले रावललाई थान्को लगाइदिएको परिणाम २०७८ वैशाखको स्थानीय तह निर्वाचन र ४ मंसिर २०७९ को प्रदेश तथा संघीय निर्वाचनमा एमालेले सुदूरपश्चिममा नराम्रो नतिजा बेहोरेको छ।
सर्वसम्मत अध्यक्ष बन्न लाग्दा ओलीको एकलौटीपनलाई चुनौती दिने रावल, घनश्याम भुसालहरुमध्ये कसैले एमाले त्यागे भने कोही राजनीतिक रुपमा निस्कृय हुँदै आएका छन्। भुसाल नेकपा एसमा पसेका छन् भने रावललगायत नेतालाई एमाले संगठनबाट निस्कृय बनाइँदा विगतमा जितेको अछामबाटै गठबन्धन दलले निर्वाचन जित्ने अवस्था बनेको हो। रावललाई टिकट नदिएको मूल्य एमालेले सुदूरपश्चिममा चुकाइसकेको छ। भुसाल एकीकृत समाजवादीको महासचिव बन्न गएका छन्।
१०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता च्यासल पुगेका थिएनन्। ओलीले उनलाई एमालेबाट किनारा लगाउन खोजेको ठानिएको थियो। २०७९ मंसिरको चुनावमा टिकट रावलले एमाले छाड्नै लागे पनि भनिए पनि अडिए। तर, उनलाई ओलीले कुनै भूमिका दिएका थिएनन्। गृहजिल्ला अछाममा सक्रिय रावललाई हिजो मात्रै अध्यक्ष ओलीले च्यासल बोलाएर वार्ता गरेपछि एमालेको जिम्मेवारीमा फर्काउने संकेत देखिएको छ।
पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग निरन्तर संवाद गर्दै आएकामा ओलीले हिजो रावलसँग वार्ता गरेका हुन्। ओलीले दसौं महाधिवेशनपछि पार्टी केन्द्रमा निष्क्रिय पूर्वउपाध्यक्ष रावललाई जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन्। सुदूरपश्चिमको निर्वाचनमा एमाले उम्मेदवारलाई हराउन भूमिका खेलेको समेत भनेर रावलमाथि कारबाही गर्ने वा नगर्नेबारे छानबिन गर्न एमालेले वार्ता टोलीसमेत बनायो।
पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग सघन छलफल गरेको थियो। ३ वैशाखमा बनेको टोलीसँग रावलले अध्यक्ष ओलीकै कारण सुदूरपश्चिममा एमाले मत खस्किएकोसमेत बताइरहेका छन्। रावलको भूमिका नहुँदा सुदूरपश्चिमको चुनावी हारमा एमाले खुइलिएको अध्यक्ष ओलीले बल्ल बुझेजस्तो लाग्यो। मंगलबार ओलीसँग रावलले झन्डै दुई घन्टा कुराकानी गरेको ओली सचिवालयले जनाएको छ। ओलीसँगको भेटबारे ट्वीट गर्दै रावलले सौहाद्र्र कुरा भएको टिप्पणी गरेका छन्। ओलीसँग फेरि भेट गर्ने उनले बताए।
‘लामो समयपछि आज अपराह्न अध्यक्ष ओलीसँग भेटवार्ता भयो,’ उनले लेखेका छन्, ‘पार्टीमा भएका विगतका घटनाक्रम, राष्ट्रिय राजनीतिका विविध पक्षबारे भलाकुसारी र विचारको सौहार्द्र आदानप्रदान भयो।’ रावलले ओलीसँगको भेटको फोटो पोस्ट गरेका छन्। पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भए पनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन।


