ताप्लेजुङ–गए राती गएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडक खण्ड अवरुद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको हो।
खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए। आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।
‘ठाउँ–ठाउँमा पहिरो झरेको छ। बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ। सम्भवतः आजै यातायात सञ्चालनमा आउन सक्छ’, उप्रेतीले भने। सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन्।–रासस


