२०८३ कार्तिक ११ गते मङ्गलबार

कैलाश मानसरोवरको यस्तो यात्रा, जो सधैं हृदयको डोबमा रहिरहनेछ

 |  सुशान्त मुरारका
Sanket

सुशान्त मुरारका

काठमाडौँ, भदौ ३
cover

मलाई लाग्छ, यात्रा आफैँमा एउटा विश्वासको परिणति हो। एउटा प्रतिबद्धता हो। ६ हजार ६ सय मिटरभन्दा अधिक उन्नत भूगोलमा रहेको कैलाश मानसरोवर यात्रा अघि नै मेरो मन–मस्तिष्कमा रोमाञ्चक धार्मिक कोलाज बनिरहेको थियो। जिज्ञासा, प्रश्न र कल्पनाको मिश्रित मिठास बोकेर हामीले हाम्रो यात्राको तयारी गरिरहेका थियौँ।

त्यसो त तीन वर्षअघि नै म मानसरोवरमा यायावरी गर्न चाहन्थेँ। तम्तयार पनि थिएँ। तर कोभिड-१९ ले त्यो तयारीमा तगारो हाल्यो। कैलाश मानसरोवर चिनियाँ भूगोलमा पर्ने हुनाले अझै त्यो यात्रा असम्भव भयो। चीन कोभिडको उद्गमस्थल जो थियो। भिसा आवदेन स्थगित थियो। तर यसपटक यी कुनै व्यवधान थिएनन्। अलौकिक पवित्र तीर्थस्थानको पर्याय अर्थात् कैलाशयात्राको ढोका खुलेको थाहा पाएपछि त्यसको पुनः तयारी सुरु भयो।

पहिलो दिन
२९ जुलाई। कैलाश मानसरोवर यात्राका लागि म, मेरी श्रीमती र एक जना गुरुसहित ७२ जनाको टिम पशुपतिनाथमा भेला भयौँ। हामीले पशुपतिनाथमा पूजा गर्‍यौँ। हाम्रा लागि यो धार्मिक यात्राको आरम्भ अनुष्ठान थियो। काठमाडौँस्थित पशुपतिनाथको ढोकाबाट निस्केपछि यात्रा औपचारिक रुपमा सुरु भयो।

हाम्रो समूहका लागि तीन यात्रुबस तय गरिएको थियो। बाटो थियो रसुवाको घाँटी छिचोल्नुपर्ने। यात्रुबसहरू रसुवाको टिमुरे बोर्डरतिर अघि बढे। नमस्ते ट्राभल्स एजेन्सीले हाम्रो यात्राको चाँजोपाँजो मिलाएको थियो।

काठमाडौँदेखि रसुवासम्मको यात्रा करिब आठ घण्टा लाग्यो। नेपालतर्फको बाटो एकदमै भत्केको, कच्ची र अप्ठेरो थियो। तर मनमा भने छुट्टै उर्जा थियो। भजन गाउँदै, गाडीबाट फोटो खिच्दै गयौँ। जसले गर्दा बाटोमा थकानको कुनै महसुस भएन। बेलुका टिमुरे पुग्यौँ। मौसम उघ्रिएकोले होला त्यहाँ वरिपरिको वातावरण पनि निकै रमाइलो थियो।

टिमुरेमा होटलहरू साना र मझौला भएपनि स्तरीय लागे। खानामा गोलभेडा हालेको टिमुरको अचार खाइयो। अहिले पनि त्यो गोलभेडाको अचारको स्वाद जिब्रोमा झुन्डिएकै छ। खाना खाएर एकछिन टिमुरे बजार घुम्यौँ। छेउमै निरन्तर बगिरहेको कञ्चन र स्निग्ध दूधकोसीको चिसो हावाले हामीलाई स्पर्श गरिरह्यो। दूधकोसीको अनवरत सुस्केराको अनुभूतिले आनन्द दियो। त्यो दिन हामी टिमुरेमा नै बस्यौं।

दोस्रो दिन
टिमुरेबाट दुई किलोमिटर पैदल यात्रा तय गरेपछि चीन–नेपाल सीमाना पुगिन्छ। दोस्रो दिनको बिहान ७ बजे हामी नाकातिर लम्कियौं। बाटोमा देखिने प्राकृतिक छटावलोकन गर्दै, तस्बिर खिच्दै, गफिँदै नाका पुगियो। हाम्रो स्थानीय समय ७.४५ मा टिमुरे नाका पुग्दा उता भने चिनियाँ समय अनुसार बिहानको १० बजेको रहेछ। सिमानास्थित अध्यागमनमा अनुमति अनुमोदन स्वरुपमा राहदानीमा छाप हान्यौं। तर अध्यागमनका कर्मचारी धेरै ढिलासुस्ती गर्दा रहेछन्। हामीहरू ७२ जनाको पासपोर्टमा छाप हान्न ४ देखि ५ घण्टा लाग्यो। त्यसपछि हामी बसयात्रासहित २४ किलोमिटर टाढा रहेको केरुङतर्फ लाग्यौं। केरुङ पुग्न लगभग १ घण्टा लाग्यो।

मेरा लागि यात्रा रहस्यमयी ग्राफ जस्तो हो। जति दूरी तय हुन्छ, त्यति जिज्ञासाहरू घनीभूत हुँदै जान्छन्। देख्ने र अनुभूत गर्ने कुराहरू नवीनतम भएपछि एकप्रकारको उत्साहले मन चङ्गा बनाइरहन्छ। त्यही उत्साह र उमंगलाई साक्षी राख्दै केरुङमा बेलुकाको खाना खाएपछि एकछिन घुम्न निस्कियौँ।

केरुङका होटलहरू भने टिमुरेकाझैँ लागेनन्। हामीलाई हाम्रा पथप्रर्दशक र सहयोगीले होटल राम्रो र उत्कृष्ट रहेको तर यसबारे प्रतिक्रिया नदिनुहोला भनेर सूचित गरेका थिए। जे होस्, यात्राका अनुक्रमहरू एकप्रकारका सम्झौता नै हुन् भन्ने आत्मबोधले हामीले सबै स्वीकार्‍यौँ।

तेस्रो दिन
तेस्रो दिन बिहानै केरुङबाट ४ सय ६० किलोमिटरको दूरीमा रहेको सागालाई गन्तव्य बनाउने क्रम आरम्भ भयो। सिनित्त परेको स्तरीय सडक, वरपर उभ्भिएका लोभलाग्दा हिमाल र एकतमासले स्पर्श गरिरहेको चिसो हावा। एउटा आल्हादको चक्रमा हिँडिरहेका थियौं।

गाडी झन्डै ५ हजार एक सय मिटरको उचाइमा गुडिरहेको थियो, एक्कासी रोकियो। यात्राको यो मध्यबिन्दूलाई ‘टेस्टिङ पोईन्ट’ भनिँदो रहेछ। गाइड र गाडी चालकले यात्रुबसको चेकजाँच गर्ने रहेछन्। परिस्थितिको लेखाजोखा पनि हुने रहेछ। यात्रुहरूलाई उनीहरूले उच्च हिमाली भेगको बिरामी अर्थात् लेक लाग्नेबारे पनि सचेत गराएका थिए।

तर गाडी रोकिएका बेला हामी स्वच्छन्दातामा रमाइलो गरिरहेका बेला एकजना वृद्ध यात्रीलाई लेकले समात्यो। उनको आकस्मिक उपचार गरियो। यो अनुभवले अरु यात्रीलाई पनि एकप्रकारले झस्काएको थियो। यद्यपि आसन्न मानसरोवर दर्शन गर्ने अभीष्टसहित हामी त्यो दिनमा सागामा बस्यौँ, मनोरम कल्पनासहित।

चौथो दिन
सागाबाट बिहानको खाजा लिएर बाटो तताईयो मानसरोवरतर्फ। बाटोमै एउटा पार्क देखियो, त्यो पार्कमा बसेर बिहानको खाना खायौं। केही समय सोही पार्कमा बितायौं। सागाबाट अकै जिल्लामा भने कैलाश मानसरोवर पर्दो रहेछ। जिल्ला सीमानामा चेकिङ हुँदो रहेछ। करिब एक घण्टा चेकिङमा लाग्यो।

कैलाश मानसरोवर हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पवित्रस्थल मानिन्छ। कैलाश दर्शनले मोक्ष प्राप्तीको ढोका खोल्छ भनिन्छ। स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। शान्त मनोविज्ञान आर्जन हुन्छ भनिन्छ। बौद्ध धर्मावलम्बीहरूले यो यात्रालाई सम्यक् यात्राका रुपमा परिभाषित गर्छन्।

हामी हिँडेको करिब एकदेखि डेढ घण्टापछि मात्र कैलाश मानसरोवर देखियो। पहिलो दृष्टिमै पवित्र कैलाशको दृश्यले एउटा लामो, एउटा गहिरो र एउटा उदात्त कौतुहललाई जवाफ दिन खोजिरहेको थियो। यस्तो दृश्यले मन यति आन्दित र उत्साहित भयो कि कतिबेला त्यहाँँ नजिकै पुगेर कैलाश दर्शन गरिहालौं भन्ने तीव्र भाव व्युत्पन्न भयो। सबै यात्रुहरूको अनुहार धपक्क बलेको देखियो, खुशीको प्रकाशले। मौसम पनि घमाईलो थियो। हिमवत् प्रकाशमा उभ्भिएका कैलाशलाई हामी सबैले टाढैबाट धार्मिक र हार्दिक नमन गरिरहँदा हामीसँग गएका ट्रेकिङ गाइडहरूले भने, ‘यसरी दर्शन निकै कमले मात्र पाँउछन्। यहाँ कि त बादल लाग्छ, कि त वर्षा भइरहन्छ। यो दुर्लभ दृष्य हेर्ने तपाईँहरू भाग्यमानी हो।’

कैलाश मानसरोवरको परिक्रममा ७० प्रतिशत यात्रा बसबाट र ३० प्रतिशत पैदल गराईंदो रहेछ। हामीले सोही दिन २० देखि २५ किलोमिटर कैलाश मानसरोवरको परिक्रमा गर्ने भयौँ। परिक्रमाका समय मानसरोवरको बीचमा पुगेपछि हाम्रो गाडी रोकियो। भनियो– दर्शन गर्नुहोला।

मानवसरोवरीय भूगोलको परिवृत्तमा पसेपछि सबै प्रशन्न थिए। धार्मिक रुझानले म पनि आह्लादित भइरहेको थिएँ। त्यहाँ कसैले स्नान थाले, कसैले मानसरोवरको जल सञ्चय थाले, कसैले तस्बिरमा आफूलाई कैद गर्न थाले र कसैले टहलिएर दृश्यानन्दमा निर्लिप्त भए। यो एक प्रकारको योगजन्य अनुक्रम थियो, धार्मिक अनुभूतिसहितको अनुक्रम।

यो दिन हामीहरू मानसरोवरमै बास बस्यौँ। हामी बसेको होटल संरचनाका हिसावले आश्रमजस्तो थियो। एउटा कोठामा चारदेखि पाँचवटा बेड थिए। सिजनमा त यी कोठाहरूमा १२ जनासम्म यात्रुहरू राखिने रहेछ। तर तर अहिले भारतलाई चीनले भिसा रोकेको हुदाँ बस्नमा यात्रुको संख्या हामीलाई अनुकुल नै थियो। यहाँको सबै व्यवस्थापन गुम्बाले गर्दोरहेछ।

पूर्णिमाको रात थियो। निन्द्रा भन्ने पटकै लागेन। हामीले कैलाश मानसरोवरको दर्शन पनि पूर्णिमाको दिन पारेर गर्ने भनेर मेसो मिलाएका थियौँ। पूर्णिमामा मानसरोवर कैलाशको सततः दर्शन हुन्छ भन्ने मान्यता र आस्थाले म भरिभराउ थिएँ।

राति १ बजेको समय थियो। हामी सिरकसहित कोठाबाट संघार बाहिर आयौँ। बसेको होटलको ढोका अगाडि कैलाश मानसरोवर अनुपम परिदृश्य थियो। ढोकामा खुट्टा राख्ने वित्तिकै मैले कैलाशतिर हेरेँ। कैलाशमा एकदमै सेतो रङ प्रतिविम्बित थियो, एकदमै सघन उज्यालोका रुपमा। हेर्दाहेर्दै ज्वालामुखी फुटे जसरी उज्यालोका हिस्साहरू देखिए। पलभर निमेषमा त्यहाँ एकदमै चम्किलो तारा हिँडिरहेको देखियो। चम्कने र ओझेल पर्ने ताराहरूको लुकामारीको दृश्यले प्रशन्नले भरिएको ऊर्जा महसुस गरेँ, मैले।

कतै पढेको थिएँ, शिवपार्वती कैलाशमा ताराको रूप धारण गरेर निस्कन्छन्। यो परिघटनाले मलाई थप आश्वस्त पार्‍यो, हो मैले शिवपार्वतीको दर्शन पाएँ। प्रदीप्त ऊर्जा र खुशीको अनुभूतिले मेरा आँखाबाट आँसु झरे। मैले यताउति केही नगरी एउटा योगाभ्यासझैँ कैलाशतिर मात्र हेरिरहेँ।

हामीसँग रहेका गुरुले सबैलाई खबर गरे पनि यो दृश्य हामी १५–२० जनाले मात्र हेर्न पायौँ।

अत्यधिक चीसो हावा चलेको थियो। खुल्ला आकाशमुनि सिरकलाई नै ओड्ने र ओछ्याउने बनाएर करिब २ देखि साढे २ घण्टा बितायौँ। त्यो समयमा हामीले दुई र चार–चारवटा चम्किला तारा मानसरोवरमा खसिरहेको पनि देख्यौँ। किंवदन्ती छ, ‘ऋषिहरू यसरी नै मानसरोवरमा स्नान गर्न आउँछन्।’ कैलाश मानसरोवरमाथि सात वटा तारा देखिए। तिनीहरूलाई सप्तर्षि भनिने रहेछ।

कैलाश मानसरोवरमाथिको डाँडाको कुनामा एउटा चम्किरहेको तारा देखियो। जसको उज्यालो अरुको भन्दा निकै फरक थियो। त्यसको उज्यालो कैलाश मानसरोवरमा परिरहेको थियो। तर हराउने र उदाउने क्रमसहित। पहिला सुरुमा त लाग्यो हामीलाई केहीको टावर होला, तर फेरि प्रश्न उठ्यो, टावर त एक ठाउँमा हुनुपर्ने यो त हल्लिरहेको छ। १५ देखि २० मिनेटपछि त्यो तारा रातो भएर बिलायो। पुनः अर्को सप्तरङ्गी तारा देखियो। त्यो तारा एक घण्टा जति मानसरोवरमा वरपर र तलमाथि गरेको देखियो।

हामीहरू सबै मौन थियौं त्यहाँ। एउटा स्तब्धता र आनन्दको दोभानमा उभिएको मेरो मनमा महामृत्युञ्जय जप आइरहेको थियो। दिमागमा एकाएक महाङ्कालको मात्र सम्झनामा मात्र आइरहेको थियो। मलाई लाग्यो, अब म तृप्त भएँ। मलाई केही चाहिँदैन।

त्यस्तै ४ बजे हामी बाहिरको यो अद्भूत प्रत्याभूत हुने दृश्यलाई बिदा गर्दै कोठमा छिर्‍यौँ।

पाचौँ दिन
बिहान सात बजे उठ्यौं। लामो यात्राको थकान र राति अबेरसम्म बस्दा जिउ नै भारी हुन्छ। तर हाम्रो शरिरमा त्यस्तो कुनै थकान थिएन। चङ्गा थियौँ। हामीमा उत्साह थपिएको थियो। हामीले पूजाको तयारी गरिहँदा ९ बजेतिर ठूलो पानी पर्न सुरु गरेको थियो, तर हामीले दियो बाल्न सुरु गरेपछि विस्तारै वर्षा रोकियो।

हामीहरू ५ देखि सात जनाले रुद्री पूजा गर्‍यौँ। म उत्तर फर्केर बसेको थिएँ। कैलाश हेरिरहेको थिएँ। होमको समयमा कैलाशको टुप्पो निलो भएको हामीले अनुभव गयौं। साढे ११ बजेसम्म पूजा सकियो। हामीले त्यहाँ कैलाशका विभिन्न रुप र रंग देखिरहेका थियौं। घरी नाट्येश्वरीको त घरी महाङ्कालको प्रत्याभूति मिल्यो।

त्यही दिन त्यहाँबाट हामी कैलाशको आधार शिविर मानिने दार्चेनतर्फ अघि बढ्यौँ। सोही क्रममा राक्षस तालको नामले परिचित स्कन्द सागर हेरियो। त्यो दिन हामी त्यही दार्चेनमै बास बस्यौँ।

छैटौं दिन
यात्राको परम् अनुभूति हाम्रा लागि एउटा विशिष्ट कला हेरे जस्तो थियो। कतै मूर्त, कतै अमूर्त कला। हाम्रो टिम दार्चेनबाट दुई भागमा बाँडियो। एउटा टिम तीर्थपुरीको दर्शनमा लाग्यो भने एउटा टिम होटलमै बस्यो। तीर्थपुरीलाई भष्मासुरले तपस्या गरेर भगवान शिवलाई खुसी पारेको स्थान पनि भनिन्छ। शास्त्रअनुसार भगवानले पनि भष्मासुरलाई जसको टाउकोमा हात राख्छ त्यसको भष्म हुने वरदान दिएका थिए।

भष्मासुरले शक्तिको मात लागेर भगवान शिवलाई नै  झन्डै भष्म पारेको थियो। पछि भगवान विष्णुले मोहिनीको रुप धारण गर्दै आफ्नै हात टाउकोमा राखेर भष्मासुर वध गरेका थिए। भष्मपछि सेतो खरानी उत्पन्न भएको थियो। तर शिव भगवानले अन्य दैत्यहरूलाई मारेको ठाउँको रातो माटो थियो। जुन हामीले पुराणमा सुनेका थियौँ, त्यो नै हामीले त्यहाँ देख्यौ‌ँ।

भष्म अर्थात् खरानी हामीले पनि अलिकति ल्यायौँ। त्यहाँबाट हिँडेको करिब आधा एक घण्टामा तातोपानी भन्ने ठाउँमा पुग्यौँ। तातोपानीले बाथ रोग निको हुन्छ भनिन्छ। पंक्तिबद्ध भएर हामीले तातोपानीमा खुट्टाहरू डुबायौँ।

मानसरोवर वृत्त सिन्धु, ब्रह्मपुत्र, सतलज र कर्णाली नदीको मुहान हो। एउटा कुरा के पनि थाहा पायौँ भने, कर्णालीबाहेक तीन नदीको मात्र पूजा हुुँदो रहेछ। हामीलाई किन रहेछ भन्ने चासो बढ्यो। एक जना गुरुले भने, ‘मानसरोवरको पानी राक्षस तालमा जान्छ। उक्त पानी कर्णालीको मुहान हो, राक्षस तालको पानी बग्ने हुदा कर्णालीलाई पूजा गरिँदैन।’

सातौँ दिन
नेपालबाट गएको सातौँ दिन तर कैलाश परिक्रमाको पहिलो दिन थियो यो दिन। हामी बिहानै उठ्यौँ। कैलाशको दर्शन यमद्वारबाट आरम्भ भयो। त्यो द्वार पार गरेमा यात्रा सजिलो हुन्छ भनिने रहेछ। यमद्वारमा पूजा गरेमा पितृ पार हुन्छन् भन्ने धार्मिक मान्यता छ।

गाइडले हामीलाई सबैलाई निलो र सुन्तला रङको टोपी र ज्याकेट दिएका थिए। त्यो लगाएर कैलाश पर्वतको १२ किलोमिटरको सुरु गर्यौँ। यात्रा पूरा गर्न ४ घण्टा पैदल लाग्यो।

हामीमा उत्साहको कुनै कमी थिएन। सकारात्मक सोच थियो। त्यस्तो कठिन बाटो पनि निकै उमंगपूर्वक पार गरियो। हाम्रो टिममा ६० वर्षका बाआमा पनि हुनुहुन्थ्यो। ४ हजार ७ सय मिटरको उचाइमा हिँड्दा शरीरमा अक्सिजनको केही कमी जस्तो देखियो। तर अन्य कुनै समस्या आएको थिएन।

मान्छे उडाउला जस्तो हावा चल्ने यस स्थानमा बलियो टिनले बारेका र ठूलाठूला कोठा भएका बासस्थान बनाइएको रहेछ। हामी तोकिएको समयभन्दा अघि नै दरापुकमा रहेको होटल पुग्यौँ। भोलिपल्ट हामीले यस यात्राको सबैभन्दा कठिन चरण पार गर्नु थियो। हामी त्यही बस्यौँ।

आठौँ दिन
बिहान छपक्कै चिसो थियो। गह्रुँगो आद्रता महसुस गर्दै ठाडो उकालो यात्रा सुरु भयो। यात्रामा भोलेनाथ कहदै अघि बढियो। देरापुकबाट करिब साढे तीन किलोमिटर उकालो पार गरेपछि एउटा पसलमा चौरीको दूधमा बटर हालेको नुनिलो चिया पियौँ। यो चिया हाम्रा लागि पहिलो अनुभव थियो। त्यो हामीलाई नयाँ स्वाद भयो। करिब १५ मिनेट बसेपछि हामी आफ्नो गन्तव्यतिर बढ्यौँ। लेक लाग्ने र यात्रा निरन्तर हुन नसक्ने खतरा जतिबेला पनि रहने भएकाले विशेष सतर्कता अपनाएर अघि बढेका थियौँ।

हामी ५ हजार ८ सय मिटर उचाईको डोल्माला पास पुग्यौँ। डोल्माला पासमा पुग्दा खुशी साट्दै गरेका हिन्दू र बुद्ध धर्मावलम्वीका यात्रालुको खुशी देख्दा हामीमा पनि ऊर्जाको सञ्चार भयो।

त्यसको १ सय मिटर अगाडि बढेपछि गौरीकुण्ड पुग्यौँ। कुण्डमा निलो रङको पानीले भरिएको थियो। वरिपरि हुस्सु लागेको डाँडा तर रमाईलो थियो। तिब्बतीहरूले परिक्रमलाई कोडा भन्दा रहेछन्।

गौंरीकुण्डबाट फेरि ठाडो ओरालो झरियो।

हाम्रो त्यसपछिको यात्रा निकै जोखिमपूर्ण थियो। यदि हिँड्दा खुट्टा तलमाथि परेमा सिधै खोलामा पुगिने जोखिम थियो। निकै होसियार भएर हिँड्नु पर्ने हिँड्दा हिँड्दै एक्कासी मेरो गोडा चिप्लियो। आफूलाई सन्तुलित अवस्थामा ल्याउन सोही समयमा मैले सिस्नुको बोट समाउन पुगेछु। ज्यानका लागि सिस्नु छोडिएन। साथमा रहेको लौरोलाई बिस्तारै हिँड्न मिल्ने बनाएपछि बल्ल सिस्नु छोडेँ। त्यो बेला डरका कारणले होला सिस्नुले पोलेन। जब अघि बढियो, सिस्नाले पोल्न थाल्यो। एक जना दाइले क्रिम दिनुभयो। अलिक बिसेक महसुस भयो।

त्यसपछि हामीले खाजा खायौँ। केही गलेका थियौं। खाजा खाएर अलिक पर पुगेपछि एउटा चौर भेटियो। केही समय त्यही आराम गरेपछि हाम्रो समूहं दार्चेनतर्फ लाग्यो। मौसम राम्रो भएकाले कुनै पनि व्यवधान बिना कैलाशको सबै दिशाबाट दर्शन गर्न पायौँ। कैलाश मानसरोवरको यात्रा सफलतापूर्वक यात्रा गर्न सकेकोमा यात्रा सकिएपछि पनि मनमा प्रसन्नता कायम छ।

यात्रा एउटा स्मृतीको गहिरो डोब पनि हो जुन यात्रुको हृदयमा बसिरहन्छ। यसको विश्वास, यसको आस्था र यसको सम्झना नै मेरो सम्पत्ती हो भनेर मैले कहिल्यै कैलाश मानसरोवरलाई विर्सने छैन।

प्रकाशित: २०८० भदौ ३ गते आईतबार ०६:१७
Sanket

सुशान्त मुरारका

लेखक मुरारका युवा उद्यमी तथा व्यवसायी हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना