काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभावका कारण मौसममा अदलीबदली भइरहेको जनाएको छ। सोही प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित ठूलो वर्षाको सम्भावना छ भने पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना छ।


