काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो।
समितिले सार्वजनिक गरेको विवरणअनुसार तिहारको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस मनाइनेछ। यस दिन धनदीप दान गर्ने परम्परा रहेको छ।
त्यस्तै, कात्तिक २१ गते शनिबार काग तिहार मनाइनेछ। यस दिन कागलाई पूजा गरी काकबलि दिने तथा धन्वन्तरि जयन्ती मनाउने कार्यक्रम रहेको छ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। यस दिन कुकुरको पूजा गर्नुका साथै साँझ घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिनेछ। यसै दिन सुखरात्रि पनि परेको समितिले जनाएको छ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरु पूजा र म्हः पूजा मनाइनेछ। यसै दिन नेपाल संवत् ११४७ पनि सुरु हुनेछ।
तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम मोहडा फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्किएर टीका लगाइदिनुपर्नेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका पर्व तथा पूजाका साइतअनुसार सर्वसाधारणले आ–आफ्नो परम्परा र धार्मिक विधिअनुसार पर्व मनाउन सक्नेछन्।


