मनाङ–हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ। लम्जुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ।
सबइन्जिनियर अधिकारीले भने, ‘एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्रयाकै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ।’ धरातल कमजोर भएको अवस्थामा साँघुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको उनको भनाइ थियो।
सबइन्जिनियर अधिकारीले भने, ‘मनाङ आउने एउटै मात्र सडक छ। यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ।’ मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ।
सडक अवरुद्ध हुँदा सवारीसाधन आउजाउ तथा सामान आपूर्तिमा समस्या भएको छ। यहाँको सडक पूर्ण रुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारी बीच बाटोमै अलपत्रमा परेका छन्।छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नुका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए।
उनले भने, ‘किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ। सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्याउन सास्ती भएको छ। अर्डर आएको सामान समयमा बजारसम्म पुर्याउनै सकिँदैन र आम्दानीभन्दा पनि सामान पुर्याउनमै खर्च बढी लाग्ने गरेको छ।’
यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लम्जुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पु¥याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन्।–रासस


