काठमाडौँ- नेपाली कांग्रेसले कसैको धर्मसंस्कृतिप्रति कसैले पनि दख्खल पुर्याउन उचित नहुने बताएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेका छन्।
केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने भन्दै कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको छ।
‘परापूर्व कालदेखि विभिन्न जात जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं,’ कांग्रेसले भनेको छ, ‘कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउन पनि उचित हुँदैन।’
धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकता निम्त्याएर धमिलो पानीमा खेल्न खोजिएको समेत कांग्रेशले ठहर गरेको छ। यस्ता विषयले त्यस्ता दृश्यअदृश्य शक्तिहरूलाई सहयोग पुग्ने भन्दै उले हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनुपर्ने उल्लेख गरेको छ।
कांग्रेसले सबै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एकठाउँमा उभिएर जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्नका लागि आग्रहसमेत गरेको छ।
धरानमा केही व्यक्तिहरूले गोरु काटेर खाएको विषय सार्वजनिक भएपछि त्यहाँको वातावरण अशान्त बन्न थालेको छ। शनिबार हिन्दू धर्मावलम्बीहरूले बृहत् प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेध आदेश जारी गरेको थियो। यद्यपि प्रदर्शनकारीहरूले धरान प्रवेश गर्न खोजेपछि ठूलो संख्यामा प्रहरी खटाएर रोकिएको थियो। धरानमा प्रदर्शन गर्न आएकाहरू इटहरीमा नै रोकिएपछि उनीहरूले त्यहीँ प्रदर्शन गरेका थिए। धरानको विषयलाई सहजीकरण नगरेको आरोप त्यहाँका मेयर हर्क साम्पाङमाथि लाग्ने गरेको छ।



