काठमाडौँ– भारतको अरुणाचल तथा अक्साई चीनसमेतका भूभाग समावेश गरेर चीनले नयाँ नक्सा जारी गरेको छ। सोमबार जारी नयाँ नक्सालाई चीनले ‘स्टान्डर्ड म्याप’ नाम दिएको छ। चीनले जारी गरेको स्टान्डर्ड म्यापमा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलगायतका भूभभाग समावेश छ। नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा भनिएको छ।
‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ। यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो,’ ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’को आधारमा बनाइएको छ।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ। उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ।
ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो।
The 2023 edition of China’s standard map was officially released on Monday and launched on the website of the standard map service hosted by the Ministry of Natural Resources. This map is compiled based on the drawing method of national boundaries of China and various countries… pic.twitter.com/bmtriz2Yqe
— Global Times (@globaltimesnews) August 28, 2023
सार्वजनिक प्रयोगको लागि समेत सोही नक्सा प्रयोग हुने जानकारी दिँदै चीनको प्राकृतिक संसाधन मन्त्रालयले डिजिटल नक्सा पनि जारी गरिने बताएको छ। चीनले सर्वेक्षण र नक्साङ्कनसम्बन्धी कानुन बनाएको यो वर्ष ३०औं वर्ष पुगेको छ। नयाँ नक्सा जारी गरेपछि चीनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थाप कडा पारेको छ।


