काठमाडौं- एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ।
बुधबार भएको खेलमा ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.३ ओभर मात्र खेलेर १०४ रनमा नै अलआउट भएको हो। नेपालका आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्सन झाले १३ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ६ विकेट गुमाएर ३४२ रन जोडेको थियो। निर्धारित ५० ओभर खेलेर पाकिस्तानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।
पाकिस्तानका इफ्तिखर अहमद र बाबर अजमले शतकीय पारी खेलेका थिए। बाबरले १५१ रन बनाउँदा इफ्तिखरले १३१ रन बटुलेका थिए। बाबरले १४ चौका र ६ छक्का प्रहार गरेका थिए।
टस हारेर बलिङ गरेको नेपालले ६ विकेट लिएको थियो। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई विकेट लिँदा रोहित पौडेल र करण केसीले एक-एक विकेट लिएका थिए।


