काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुनका लागि आफ्नो दलले कम्तीमा पनि तीन वटा मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ।
तीन मन्त्रालय नपाएसम्म सरकारमा सहभागी हुने व्यक्तिमा कसैलाई पनि नपठाउने निर्णय नेकपा एस सचिवालयको आकस्मिक बैठकले गरेको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘हाम्रो दाबी तीन वटा मन्त्रालयमा यथावत् छ। प्रधानमन्त्री तीन वटा मन्त्रालय दिन तयार भइसक्नुभएको छैन। उहाँले हालसम्म तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अडानमा छौँ,’ उनले भने।
प्रधानमन्त्रीले एक जनालाई पठाउन आग्रह गरे पनि एक जना मात्रको विषयमा कुनै छलफल नै नभएको उनको भनाइ थियो। ‘हामी एक होइन तीन नाम दिन तयार भएर बसेका छौँ। एक जनाको मात्र विषयमा छलफलै भएको छैन। तीन मन्त्रालय प्राप्त भएपछि हाम्रो तर्फबाट सरकारमा जाने व्यक्तिको नाम सार्वजनिक गर्दैनौँ,’ उनले थपे, ‘हामी त्यो प्राप्त गर्न सम्भावनामा नजिक छौँ। हामीले थुप्रै त्याग गरेका छौँ। हामी सबै हिसाबले हामी तेस्रो संख्या छौँ।
प्रधानमन्त्रीले तीन मन्त्रालय दिने गरी मन्त्रीको नाम माग गरे कुनै पनि बेलामा निर्णय गर्ने गरी तयार भएर बसेको उनको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसका लागि नेकपा एसबाट एक जना मन्त्रीको नाम माग गरेका थिए।
यसअघि पार्टीका सम्मानित नेता झलनाथ खनालले भने प्रधानमन्त्रीको आग्रहअनुसार पहिलो चरणमा उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको बताएका थिए।


