काठमाडौँ– नेपाल एसिया कपको समूह चरणबाट बाहिरिएको छ। भारतसँग १० विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट नै बाहिरिएको हो।
छनोट चरणअन्तर्गत सोमबार श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा २०.१ ओभरमा कुनै विकेट नगुमाई भारतले लक्ष्य पूरा गर्दै नेपाललाई पराजित गरेको हो।
वर्षाका कारण दुई घण्टा अवरुद्ध भएपछि डीएलएस मेथडका आधारमा २३ ओभरमा झरेको खेलमा नेपालले दिएको २३१ रनको लक्ष्य पनि झरेर १४५ रनमा समेटिएको थियो। नेपाल र भारतबीचको खेल भइरहेका बेला ८:१८ बजे वर्षा सुरु भएपछि रोकिएको खेल १०:१५ बजे मात्र सुरु भएको थियो। रोकिनुअघि भारतले २.१ ओभरमा १७ रन बनाएको थियो।
भारतीय टिमका रोहित शर्मा र शुबमन गिल नटआउट हुँदै टिमलाई विजयी बनाए। रोहिले ५९ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ७४ रन जोडे। यस्तै गिलले ६२ बलमा एक छक्का र ८ चौकाको सहयोगमा ६७ रनको योगदान गरे। उनीहरूकै साझेदारीमा भारतीय टिमले निर्धारित १४५ रन पुर्याउन सकेको हो।
यसअघि नेपालले २३१ रनको लक्ष्य दिएको थियो (२३ ओभरमा सीमित हुने भएपछि अब नेपालको लक्ष्य १४५ रनमा झरेको छ)। नेपालले ४८.२ ओभरमा अलआउट हुँदै उक्त लक्ष्य दिएको हो। भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाएका थिए।
अलराउण्डर सोमपाल कामीले ४८ रन जोडेका थिए। ओपनर कुशल भुर्तेलले ३८ रन जोड्दा दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भएका थिए।
सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ रन बनाउँदा कुशल मल्ल दुई रनमै आउट भए भने करण केसीले २ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए। मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रह्यो।
समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन्।


