सिन्धुपाल्चोक–हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ। मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–यांग्र्री र यांग्र्रीबाट हेलम्बु यातायात आउजाउका लागि यस्तो प्रस्ताव गरेका हुन्।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत यांग्र्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ। सोही प्रयोजनका लागि थप ९ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट यांग्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट यांग्र्री र यांग्र्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ।
यांग्री र लार्केको पानी काठमाडौं लैजान निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरीे बनाउन उनले आग्रह गरे। अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिए हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने बताए। दुईवटै पालिकाको छोटो दूरी र वैकल्पिक मार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उनको भनाइ छ।
यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए। उनले भने, ‘एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवद्र्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ।’ यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको जनाइएको छ।
यस विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने अध्यक्ष शेर्पाको भनाइ छ। सो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ।–रासस


