काठमाडौं– ब्राजिलका सुपरस्टार फुटबलर नेयमार जुनियरले सर्वकालिन महान् फुटबलर पेलेको रेकर्ड तोडेका छन्। ब्राजिलको शिर्ष गोलकर्ताको सूचीमा नेयमारले पेलेलाई उछिनेका हुन्।
शनिबार विहान घरेलु मैदानमा भएको खेलमा बोलोभिया माथि शानदार जित निकाल्ने क्रममा नेयमारले पेलेको रेकर्ड तोडे। ७७ गोल गरेका पेले ब्राजिलका शिर्ष गोलकर्ता थिए। गत वर्ष कतारमा भएको विश्वकपमा पेलेको रेकर्डसँग बराबरी गरेका नेयमारले शनिवार भने ब्राजिलका लागि ७९ औं गोल गरे। सन् १९७१ मा राखेको पेलेको त्यो रेकर्ड अहिलेसम्म कुनै पनि ब्राजिलियन खेलाडीले तोड्न सकेका थिएनन्। पेलेले केवल ९२ खेलमा ७७ गोल गरेका थिए। पेलेको यो रेकर्ड तोड्न नेयमारले १२५ खेल खेल्न पर्यो। बोलिभिया माथि शानदार जित नेयमारले रेकर्ड बनाएको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलको शानदार जित निकालेको छ।
विश्वकप छनौट अन्तर्गतको पहिलो खेलमा ब्राजिलका सामु बोलिभिया निरिह देखिएको थियो। ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २–२ गोल गरेका थिए। राफिन्हाका नाममा १ गोल रह्यो। बोलिभियाका भिक्टर ओलिभोले एक गोल फर्काएका थिए।
डिनिजको सुखद् सुरुवात
ब्राजिलका अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजले राष्ट्रिय टोलीलाई मैदान उतारेको यो पहिलो खेल थियो। तर पहिलो खेलमै उनले जित निकालेका छन्। कतार विश्वकपपछि प्रशिक्षक टिटेले टिम छाडेका थिए।
त्यसपछि ब्राजिलको टिम यु–२३ टिमका प्रशिक्षक रोमान मेनेजेलेसले सम्हालेका थिए। तर, उनको नेतृत्वमा टोलीको प्रर्दशन उतारचढावपूर्ण रह्यो। सोही कारण ब्राजिलले राष्ट्रिय टोलीको जिम्मेवारी डिनिजलाई लगाएको हो। उनले सन् २०२४ को जुनसम्म राष्ट्रिय टोली सम्हाल्नेछन्। उनी अहिले पनि ब्राजिलियन सिरी ए टिम फुल्मानिन्सेका प्रमुख प्रशिक्षक हुन्। डिनिजलेले पोजेसनिज्मको धार भन्दा पृथक रिलेसनिज्म फुटबल सिद्धान्तको विकास गरेका छन्।


