काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले, गठबन्धन सरकारका कारण देशमा व्यवसायिक समस्या देखिएको आरोप लगाएका छन्।
‘सहकारीकर्मीसँग केपी ओली’ विषयक अन्तर्क्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएका हुन्।
‘गठबन्धन सरकार आउँदा उद्योगहरुमाथि चट्याङ् परेको जस्तो भयो,’ उनले आरोप लगाए, ‘कांग्रेस र माओवादी केन्द्र सहकारी नीतिको विरुद्धमा छन्।’
नेपाली काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले सहकारीको पक्षमा नभएको र माओवादीलाई सहकारी नीतिको अर्थ नभएको उनको भनाइ थियो।
‘माओवादी भन्ने पार्टीलाई उसले फाइदा मात्रै जान्दछ,’ उनले भने, ‘क्विन्टलका क्विन्टल सुन ल्याए जस्तो फाइदा हुदैँन, उसलाई धेरै फाइदा चाहिने मानिस हो।माओवादीलाई सहकारीको मतलब छैन।’
अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरुलाई छानीछानी लखेट्ने गरेको आरोप लगाउँदै कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको बताए।


