काठमाडौं–हृदयाघातबाट निधन भएका संविधानसभाध्यक्ष, एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको पार्थिव शरीर अहिले केही बेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा लगिने भएको छ।
बालुवाटारस्थित आफ्नै निजी निवासमा मंगलबार राति १ बजे उनलाई हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याउँदा नेम्बाङको निधन भएको थियो।
नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो।
स्नातक अध्ययनका क्रममा २०२८/२०२९ मा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए। २०३३ मा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी को-अर्डिनेसन केन्द्र(माले)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
२०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए।
नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, २०६४ व्यवस्थापिका संसद्को सभामुख, २०६५ एवम् २०७० मा संविधानसभाका अध्यक्ष/सभामुख भएका थिए।
२०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक-पटक गरी सात महिना थुनामा परेका नेम्वाङ २०५१ मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी, २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्व. नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।
२०३३ मा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी को-ओर्डिनेसन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमाले उपाध्यक्ष बनेका हुन्।
उनी एमाले संसदीय दलको उपनेता पनि थिए। उनी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका थिए।
प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उनी नेपाल बार एसोसिएसनको पूर्वमहासचिवसमेत हुन्।
पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए।


