काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार बिहानदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा कार्यक्रम तय गरिएको छ। एसईईमा झन्डै ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय शिक्षा बोर्डले जानकारी दिएको छ।
बोर्डकापरीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठकाअनुसार यसपालि जापानमा पनि परीक्षा केन्द्र तय गरिएको छ। देशभित्र २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी २ हजार ३७ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको हो। जापानबाट १४ जनाले एसईई परीक्षामा सहभागिता जनाउँदैछन्।
७८ हजार जनशक्ति परिचालन भएको परीक्षा चैत २९ सम्पन्न हुनेछ। यसपटकदेखि परीक्षा चलिरहेका बेला कसैले पनि हलमा गएर फोटो र भिडियो लिन नपाउने भएको छ। फोटो/भिडियो लिँदा विद्यार्थीहरुको ध्यान बिग्रने, लेख्दै गरेको उत्तर बिर्सने, मनोबल कमजोर हुने गरेको गुनासो आएपछि फोटो भिडियो लिन निषेध गरिएको बोर्डले जानकारी दिएको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईलाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्। उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्। ‘आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ, ‘एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु।’
000
उता आजै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् गर्ने तयारी गरेका छन्। दलले पाउने मन्त्रालयको संख्यामा सहमति जुटाएका प्रधानमन्त्री दाहालले मन्त्री बनाउने व्यक्तिको नाम दलहरूसँग माग गरिसकेका छन्। दलले नाम बुझाउने बित्तिकै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
१० दलबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन्। नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले एक-एक मन्त्रालय लिने छन्।
प्रधानमन्त्री दाहालले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा गर्ने तयारी थालेका थिए।
सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा पठाउने नाम लगभग टुंग्याएको छ। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ र एनपी साउद मन्त्री बन्न लागेका छन्। यस्तै, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत पनि मन्त्री बन्ने सूचीमा छन्।
कांग्रेसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानुन तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने टुंगो लागिसकेको छ।
धनराज गुरूङ संघीय मामिला, एनपी साउद सहरी विकास, सीता गुरूङ भूमि व्यवस्था मन्त्री बन्ने टुंगो लागेको कांग्रेस स्रोतले जानकारी दिउको छ। यस्तै डिगबहादुर लिम्बू कानून र प्रकाशशरण महत अर्थमन्त्री बनाउने निष्कर्षमा कांग्रेस छ। मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जाने रुचि देखाएका छन्। खड्का र रिजालको मन्त्रालय भने टुंगो लागि नसकेको बताइएको छ।
जनता समाजवादी पार्टीले शिक्षा र वन मन्त्रालय पाउने भएको छ। जनमतले उद्योग मन्त्रालय पाउने भएको छ। यी दलले मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएका छैनन्।
नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाएको छ। एसले वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ। नारायणकाजी श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयबाट गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन्।
मन्त्रालय संख्याबारे सहमति भएपनि दलले पाउने मन्त्रालयको हेरफेर हुन सक्ने बताइएको छ।


