दैलेख–दैलेखमा बिहीबार एकै दिन चार स्थानमा चट्याद पर्दा १ जनाको मृत्यु र १९ घाइते भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर मृत्यु हुनेमा महावु गाउँपालिका– १ की ४२ वर्षीया भूमिसरा खत्री रहेकी छन्।
भूमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा बिहीबार बेलुकी ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दैलेख प्रहरीका अनुसार ओखलढुंगास्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् भने घरमा बाँधेको बाख्रा मरेको छ। घाइते पदमकुमारीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। चट्याङबाट दलबहादुर गुरुङ, जयबहादुर गुरुङ, सम्झना गुरुङ, रोशनी गुरुङ, खरजंग गुरुङ घाइते भई बेहोस भएकाले जिल्ला अस्पताल दैलेखबाट प्रदेश अस्पताल सुर्खेत रिफर भएका छन्।
यस्तै, शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कविराज थापा, शेरबहादुर सेन, पदमाकुमारी सेन, मनसरा जैशी र मीनबहादुर थापा घाइते छन्। उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। नारायण नगरपालिका ४ तामेखोलास्थित दिलबहादुर खड्काको गोठमा चट्याङका कारण एउटा गोरुको मरेको छ भने अर्को घाइते भएको छ।
उक्त चट्याङबाट स्थानीय पार्वती कठायत र नन्दा कठायत घाइते भई बेहोस अवस्थामा जिल्ला अस्पताल दैलेखबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।
बिहीबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको थियो। महाबु गाउँपालिका–१ खरिगैरा, ओखलढुंगा, डुंगेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षति पुर्याएको हो।


