काठमाडौँ– एनआईसी एसिया बैंक लिमिटेडले लगानीकर्ताहरूलाई साढे ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश दिनका लागि प्रस्ताव गर्ने भएको हो।
‘बैंकको सञ्चालक समितिले ३०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ,’ बैंकका एक सञ्चालकले भने, ‘लाभांशमा ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ खर्च हुने भएको छ।’ ती सञ्चालकका अनुसार २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिनेछ।
बैंकले देशभर ३६० शाखा कार्यालय, ६०८ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखाबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको दाबी गरेको छ।


