कोभिडका केस निकै बढ्दैछन्। सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन् तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भइसक्यो। केही (समग्रतामा हेर्दा पहिलेका भन्दा निकै प्रतिशत) सिकिस्त बिरामी पनि देखिँदैछन्।
रुघाखोकी र ज्वरो छ भने पहिले त आफूले मास्क लगाऔं। आइसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं। लक्षण शुरु भएको ४८ घन्टा जति पछि एन्टिजेन जाँच गराऔं। महामारी नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण शुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै जाँदैछ। साथै लक्षणबिनाका सङ्क्रमितको हिस्सा पनि बढ्दै जान्छ।
अहिले पनि फ्लुलगायत अरु भाइरस अलिअलि त होलान्, तर हरेक नयाँ फैलने कोरोनाभाइरसको भेरिएन्ट झन् बढी सङ्क्रमणशील हुन्छ, त्यसैले कोरोनाको भेरियन्ट फैलिएको बेला चाँडै त्यसले प्राय: अरु सबै श्वासप्रश्वासबाट फैलने विषाणुलाई विस्थापित गर्दै जान्छ। त्यसैले अब चाँडै नै सबै रुघाखोकी हुनेहरू कोभिड-सङ्क्रमित नै होलान् भन्ने अनुमान गर्न मिल्नेछ।
अहिले नेपालमा फैलेको भेरिएन्ट भारतमा फैलँदै गरेको एक्सबीबी १.१६ नै होला, जसको बारेमा धेरै कुरा (मुख्य गरी कति धेरैलाई सिकिस्त बनाउला भन्ने) स्पष्ट भइसकेको छैन। तर पनि धेरैजसोको लागि पहिलेका भेरिएन्ट झैं कडा नहोला कि भन्ने आशा गर्ने ठाउँ छन्।
न् झन् पछिल्ला भेरिएन्ट झन् बढी सङ्क्रमणशील हुँदै जाने भएकोले तिनको उभार पनि झन् चाँडो छोटो हुँदै जाने देखिन्छ, त्यसैले केही हप्तामा यो उभार पनि सेलाउला।
तैपनि कोभिड देखिएमा लक्षण शुरु भएको ८-१० दिनसम्म पल्स अक्सिमिटरले आफ्नो रगतको अक्सिजनको मात्राको निगरानी गर्दै गर्नुहोला। उमेर, कुनै रोग वा उपचारका कारणले रोग-प्रतिरोधी क्षमता कमजोर हुनेले एक पटक विषयविज्ञसँग राय लिनुहोला। एन्टिजेन नेगेटिभ नहोऊन्जेल आइसोलेसनबाट ननिस्कनूहोला।
५ दिनको भ्रममा नपरौं। झन् झन् पछिल्ला भेरिएन्ट झन् बढी सङ्क्रमणशील हुँदै जाने भएकोले तिनको उभार पनि झन् चाँडो छोटो हुँदै जाने देखिन्छ, त्यसैले केही हप्तामा यो उभार पनि सेलाउला। सायद भिड बढी हुने सहरबजारमा चाँडो फैलेर गाउँघरतिर पुग्न, फैलन अलि बढी समय लाग्ला। उभार कम नहोऊन्जेल बाँकीले चाहिँ पाएसम्म एन-९५ वा सो सरहको मास्क लगाऔं। आफू, आफ्ना र अरूलाई सुरक्षित राख्ने कोशिश गरौं। विशेष गरी भिडभाडमा, अरूसँग निकट दूरीमा बस्नुपर्ने ठाउँमा वा बन्द स्पेसमा बस्दा मास्क नछोडौं।
स्यानिटाइजर प्रयोग गर्नेलगायतका काम त छँदैछन्। अनि खोप लगाऔं। सरकारले सायद काठमाडौं र केही ठूला सहरमा मात्र खुसुखुसु खोप दिँदैछ। समताको प्रश्नको उनीहरूसँग कहिल्यै जवाफ हुन्न नै। केटाकेटी र ठिटाठिटीले बाहेक यसअघि खोप लगाएको वा सङ्क्रमण भएको ५-६ महिना भइसकेका सबैले नयाँ ‘बाइभ्यालेन्ट’ खोप लगाउनु बेस। ‘उच्च जोखिम’का कोही नछुटून्।
‘लङ कोभिड’ माथि दक्षिण एसियालीहरुमा खासै अध्ययन भएको छैन। तर यो भाइरसले विभिन्न अङ्ग र रोगप्रतिरोधी प्रणालीमा जटिल दूरगामी असर पार्नेरहेछ भन्ने धेरै प्रमाण देखिंदैछन्। यो सङ्क्रमण कुनै पनि उमेरको कसैलाई पनि हुनु राम्रो हैन, बारबार हुनु झन नराम्रो हो। सबैले जोगिने कोशिश गरौं है।



