काठमाडौँ- नेपाली कांग्रेसले चार जनालाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नाम पठाएको छ। प्रचण्ड सरकारमा कांग्रेसले ८ मन्त्रालय पाएपनि पार्टीभित्र विवादका कारण आजका लागि ४ जनालाई मात्र मन्त्री बनाउन नाम पठाइएको हो।
‘कांग्रेसले ४ जनाको नाम पठाएको छ,’ सभापति शेरबहादुर देउवा निकट स्रोतले भन्यो। शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि देउवाले ४ जना मात्र मन्त्री हुने व्यक्तिको नाम पठाएका हुन्।
देउवाले उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङको नाम मन्त्रीका लागि पठाएका छन्।
आज बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक सहभागिता नभए सरकारबाहिरै बस्ने निर्णय गरेको थियो। पार्टीले पाएको ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने कोइराला पक्षको निष्कर्ष छ।


