भारतले आठौँपटक एसिया कप क्रिकेट जित्यो। २०२३ को एसिया कपमा मोहम्मद सिराजको प्रदर्शन ऐतिहासिक रह्यो। सिराजको यो प्रदर्शनको लामो समयसम्म प्रशंसा हुने कप्तान रोहित शर्मा बताउँछन्।
फाइनलमा टस जितेपछि पहिले ब्याटिङ थालेका श्रीलंकाली ब्याट्सम्यानहरु सिराजसामु टिक्न सकेनन्। सिराजले २१ रन दिएर ६ विकेट लिँदा श्रीलंका ५० रनमै अलआउट भयो। बाँकी तीन विकेट हार्दिक पाण्ड्या र एक विकेट जस्प्रित बुमराहले लिए।
म्याचपछि श्रीलंकाली कप्तान दसुन शनाकाले आकाशमा लागेको बादलका कारण फास्ट बलरहरुलाई सहज भएको बताए, उनले सिराजको प्रदर्शन र क्षमताको निकै तारिफ गरे।
पाकिस्तानका पूर्वकप्तान तथा फास्ट बलर वासिम अकरम सिराजको प्रशंसामा सबैभन्दा अघि सरे। उनले सिराजकै कारण भारत विश्वकपको सबैभन्दा ठूलो दाबेदार टिम रहने बताए।
‘यो भारतीय टिमको शक्तिको प्रदर्शन थियो र यो टिम आफ्नै मैदानमा हुने आगामी विश्वकपका लागि सबैभन्दा ठूलो दाबेदार हो,’ उनले भने।

मोहम्मद क्याफले सिराजको करियरको पहिलो इनिंग्स सम्झिए। ‘सिराजले यो अद्भूत पारी खेलेको दिन उनले डेब्यूमा ७६ रन दिएर कुनै विकेट लिन नसकेको सम्झनुस्। कसरी राम्रो कमब्याक गर्न सकिन्छ भनेर सिराजले सबैलाई देखाएका छन्,’ उनले भने।
त्यो गोल्डेन ओभर
खेलको पहिलो ओभरमै जस्प्रित बुमराहको बलमा कुशल परेरा क्याचआउट भएका थिए। दोस्रो ओभर फाल्न सिराज आए। उनले यस ओभरमा कुशल मेन्डिसलाई निकै दबाबमा राखे, जो ट्रेलरजस्तो थियो। म्याचको चौथो तथा सिराजको दोस्रो ओभर एकदिवसीय क्रिकेटका लागि अविस्मरणीय बन्यो।
पहिलो बलमा सिराजले प्रथुम निस्सांकालाई रवीन्द्र जडेजाको हातबाट क्याचआउट गराए। तेस्रो बल सदीरा समिरविक्रमको प्याडमा लाग्यो र उनी एलबिडब्ल्युको शिकार भए। लगत्तै अर्को बलमा सिराजले चरित असालांकालाई कभरमा खडा भएका ईशान किशनको हातबाट क्याचआउट गराए।

ह्याट्रिकको संघारमा रहेका सिराजविरुद्ध यसपछिको बलमा धनञ्जय डी सिल्भाले मिड अनबाट बाउन्ड्री लगाए। लगत्तै अर्को बलमा सिराजले धनञ्जयलाई आउट गरे।
यसरी यस ओभरमा श्रीलंकाका चार स्टार ब्याटस्म्यान केवल १२ रन बनाए पेभेलियन फर्किए। सिराज यस खेलमा पाँचौ र छैटौं विकेट पनि लिए।
बाँकी तीन विकेट हार्दिक पाण्ड्याले लिए। ५० रनमै समेटिएको श्रीलंकाविरुद्ध भारतले बिना कुनै विकेटको क्षतिमा ६ ओभर १ बलमा जित निकाल्यो। भारतबाट ओपनरद्वय इशान किसनले २३ र शुभम् गिलले २७ रन बनाए।
फाइनलमा प्लेयर अफ द म्याच घोषित सिराजले उक्त उपलब्धिबापत प्राप्त नगद पुरस्कार, मैदानको व्यवस्थापनमा खटिनेहरुलाई दान गर्ने घोषणा गरे।
सिराजको संघर्ष
रातारात स्टार बनेका सिराजको संघर्षको कथा लामो छ। हैदरावादमा सिराजका पिता अटो ड्राइभर थिए। उनकी आमा अन्य मानिसहरुको घरमा काम गर्थिन्।
सन् १९९४ मा जन्मिएका सिराज सानैदेखि गल्लीमा आफ्ना साथीहरुसँग क्रिकेट खेल्थे। तर, घर परिवारको आर्थिक अवस्था राम्रो नभएकाले सिराजलाई कहिल्यै क्रिकेट एकेडेमीमा जाने मौका मिलेन। सुरुमा उनी ब्याटिङ गर्थे। तर बिस्तारै बलिङ गर्नमा उनलाई मज्जा आउन थाल्यो।

सन् २०१५ मा २१ वर्षको उमेरमा उनी रणजी ट्रफी खेल्नका लागि हैदरावादको टिममा छानिए। यो उनका लागि ठूलो उपलब्धि थियो। उक्त प्रतियोगितामा ९ म्याचमा १८.९२ को औसतमा ४१ विकेट लिएर उनी वर्षका उत्कृष्ट तीन ब्याट्सम्यानको सूचीमा परे। २०१७ मा रणजी ट्रफीमा गरेको प्रदर्शनकै आधारमा उनको नाम आईपिएलको खेलाडी लिलामी सूचीमा समावेश गरियो।
आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरले उनीमाथि बोली लगाए। यस होडबाजी अन्त्यमा सनराईजर्स हैदरावादले उनलाई किन्यो। यतिबेला सिरिजको बेस प्राइस २० लाख भारु थियो। तर उनलाई २ करोड ६० लाख भारु मुल्य मिलेको थियो। यस सिजन आईपिएलको अन्तिम लिग खेलमा उनले सनराईजर्सबाट चार विकेट लिए।
अर्को वर्ष रोयल च्यालेन्जर्स बैंगलोरले उनलाई किन्यो र अहिलेसम्म उनी यही टिमबाट लगातार खेलिरहेका छन्।
टी-२०
आईपिएलमा राम्रो प्रदर्शन देखाउन थालेपछि उनी भारतीय टी-२० टिममा छानिएका थिए। न्युजिल्यान्डविरुद्धको खेलमा उनले आफ्नो करियरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए, केन विलियम्सनलाई आउट गरेर। तर, यस म्याचमा उनको प्रदर्शन औसत थियो।
त्यसपछि लगातार तीन खेलसम्म यस्तै औसत प्रदर्शनमात्रै देखियो। जसकारण, उनले भारतीय टी–२० टिममा नियमित स्थान बनाउन सकेनन्। अझै सकेका छैनन्।
एक दिवसीयमा चम्कँदै
सिराज २०१९ मा भारतीय एकदिवसीय टिमका लागि छानिएका थिए। जसप्रित बुमराह र मोहम्मद सामी टिमका मुख्य खेलाडी भएकाले तीनवटा फास्ट बलर चाहिँदा मात्रै सिराजलाई मौका मिल्नेवाला थियो।

एडिलेडमा अस्ट्रेलियाविरुद्ध उनले डेब्यु खेल खेल्न पाए। यस खेलमा १० ओभर बलिङ गर्दा ७६ रन खर्चिए। त्यसपछि एकदिवसीय टिममा फर्कन २०२२ सम्म कुर्नुपर्यो।
सही लाइन र लेन्थमा सटिक बल फालेर जब सिराजले विपक्षी टिमका ब्याट्सम्यानहरुलाई हैरान बनाउने र विकेट लिने क्रम थाले। तब टिममा उनको उपयोगिता बढ्यो र पछिल्ला वर्षयता उनले भारतीय टिमका लागि लगातार खेल्दै आइरहेका छन्।
उनले अहिलेसम्म २९ खेलमा ५३ विकेट लिइसकेका छन्। यस वर्ष सिराजको एक अलग रुप देखिएको छ। उनले यस वर्ष अहिलेसम्म खेलेका १२ एकदिवसीय खेलमा २९ विकेट लिइसकेका छन्।
सिराजका लागि यो वर्ष सपनाको वर्ष रह्यो। उनले एसिया कपको फाइनलमा आफ्नो एकदिवसीय करियरकै सर्वोत्कृष्ट प्रदर्शन गरे। आईपिएलमा पनि उनको प्रदर्शन निकै उत्कृष्ट छ।
२१ टेस्ट म्याचमा सिराजको नाममा ५९ विकेट छ। यसमध्ये ४० विकेट उनले अस्ट्रेलिया र इङल्यान्डविरुद्धका खेलमा लिए। यस वर्ष वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेका बेला सिराजले अस्ट्रेलियाको पहिलो पारीमा चार विकेट लिए, टेस्ट म्याचमा उनको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन पनि हो।
नजरमा विश्वकप
भारतले केही समयमै अस्ट्रेलियाविरुद्ध एकदिवसीय शृंखला खेल्दैछ। त्यसलगत्तै विश्वकप सुरु हुनेछ।
सिराजसामु ठूलो चुनौती छन्। तर, उनले आफुलाई प्रमाणित गर्न गरेको मेहिनत तथा एसिया कपमा गरेको सनसनीपूर्ण प्रदर्शनका कारण उनीबाट अपेक्षा गर्न सकिने ठाउँहरु धेरै छन्।
जसप्रित बुमराह टिममा फर्किएका छन्। सिराज पनि लयमा छन्। कुलदीप यादवले पनि विकेट लिइरहेका छन्। भारतसँग अनुभवी बलर मोहम्मद समी पनि छन्। त्यहीकारण, यो बलिङ डिपार्टमेन्ट निकै दुरुस्त देखिएको छ। अब भारतले आफ्नो स्थिरता र निरन्तरता ब्याटिङमा कायम राख्नुपर्नेछ। यस्तो हुन सके, भारतीय टिम आगामी विश्वकपको प्रबल दाबेदार हुनेछ।


