काठमाडौं – मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको माग गर्दै पार्टी तथा संघ-संस्थाहरू सक्रिय रहेका बेला भक्तपुरमा पूर्वराजा जाने भएका छन्।
भक्तपुरमा पूर्वाराजा ज्ञानेन्द्र शाह असोज ७ गते जाने भएका हुन्। शाहको सचिवालयले बुधबार विज्ञप्ति जारी गरी यो जानकारी दिएको छ।
संविधान दिवसकै दिन पूर्वराजाको सचिवालयले यस्तो जानकारी इमेलमार्फत् पठाएको छ।
भक्तपुर जाँदा पूर्वराजा शाहले तलेजु र भैरवनाथ मन्दिरको दर्शन गर्नेछन्। त्यसपछि उनले भक्तपुर दरबार स्क्वायर परिसरमा जनतासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ।
‘भक्तपुरबासीको विशेष निमन्त्रणामा उहाँ असोज ७ गते जाने तय भएको छ,’ संवाद सचिव फणिराज पाठकले नेपाल क्लिक्ससँग भने, ‘मन्दिर दर्शनपछि उहाँ जनतासँग भेट्नुहुने छ।’
पाठकका अनुसार भक्तपुरका अनन्तप्रसाद धवडेलको नेतृत्वमा पूर्वराजाको कार्यक्रमका लागि उपसमिति गठन गरिएको छ।
‘जनतासँग अन्तरक्रिया कसरी म्यानेज हुन्छ त्यो मलाई थाहा भएन, तर उपसमिति गठन गरिएको छ,’ उनले भने।
पाठकका अनुसार त्यो कार्यक्रममा कुनै राजनीतिक दलको संलग्नता छैन।
पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगायत राजावादीनिकट संघ-संस्थाहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए।
यही सेरोफेरोमा पूर्वराजाको सक्रियता बढेको हो।


