काठमाडौँ- संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक, २०८० का प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका शिक्षक वार्तामा बसेका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको सरकारी टोली र शिक्षकका प्रतिनिधिबीच वार्ता सुरु भएको हो।
यसअघि शिक्षामन्त्री अशोककुमार राईले वार्तामा बोलाउँदा नगएका शिक्षक गृहमन्त्रीसँग भने वार्तामा बस्न राजी भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे शिक्षामन्त्री अशोककुमार राईको नेतृत्वमा हुने वार्तामा सहभागी हुन महासंघलाई आग्रह गरेको थियो । महासंघले भने वार्तामा सहभागी नभई मंगलबार नै केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो। वार्ता नगरी आन्दोलन मात्र गर्ने भनेपछि शिक्षकहरूको आलोचना सुरु भएको थियो।
बिहान आठ बजेदेखि सुरु भएको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी छन्।
शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित थालेका छन्। बिहीबार पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने शिक्षकको तयारी छ।


