क्यानडास्थित ब्रिटिस कोलम्बियाका प्रभावशाली शिख नेता हरदीप सिंह निजारको १८ जुनमा एक शिख मन्दिरबाहिर गोली हानेर हत्या भयो।
४५ वर्षका निजारको हत्यासँगै क्यानडा र भारतबीचको कूटनीतिक तनाव अहिले चर्किएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्दै ‘निजारको हत्यामा भारत सरकारका एजेन्टको संलग्नता हुनसक्ने’ आशंका व्यक्त गरेका थिए।
भारतले यी आरोपहरु आधारहीन रहेको जनाएको छ। सतही रुपमा हेर्दा यो विवाद निजारको हत्याकाण्डपछि चर्किएजस्तो देखिन्छ, तर यसको पृष्ठभूमि लामो छ।
शिख समुदायको भारत–क्यानडा कनेक्सन
विश्वका ठूला धार्मिक समुदायमध्ये शिख एक हो। १६औं शताब्दीमा पञ्जाबबाट यो धर्म सुरु भयो। १९४७ पछि भारत स्वतन्त्र भएसँगै पञ्जाब क्षेत्र भारत र पाकिस्तानमा विभाजित भयो।
विश्वभर २ करोड ५० लाखभन्दा धेरै सिख छन्। धार्मिक आस्थाका आधारमा यो विश्वको पाँचौ ठूलो समुदाय हो। यसमध्ये सबैभन्दा धेरै भारतमा बस्छन्। भारतको कुल जनसंख्या (१ अर्ब ४२ करोड) को २ प्रतिशत सिख समुदायले ओगट्छ।
डायस्पोरामा पनि शिखहरुको ठूलो जनसंख्या छ। भारतबाहिर सबैभन्दा ठूलो संख्या क्यानडामा छ। जहाँ झन्डै ७ लाख ८० हजार शिख छन्। यो संख्या क्यानडाको कुल जनसंख्याको २ प्रतिशतभन्दा धेरै हो।
अमेरिका र बेलायतमा झन्डै ५ लाखको हाराहारीमा शिख छन्। त्यस्तै, अस्ट्रेलियामा झन्डै २ लाख शिख छन्।
अलग राज्यको माग
खालिस्तान आन्दोलनले भारतमा अलग शिख राज्यको माग गरिरहेको छ। पञ्जाब राज्यमा १९८० को दशकमा यो आन्दोलन उचाइमा थियो। यतिबेला पञ्जाबमा हजारौँले ज्यान गुमाए। भारतीय सेनाले विशेष अपरेसन चलाएपछि यो आन्दोलन मत्थर भयो।
क्याब्रिज विश्वविद्यालयका प्राध्यापक श्रुति कपिलाका अनुसार अहिले पञ्जाबको राजनीति यो आन्दोलनबाट अन्यत्रै सिफ्ट भइसकेको छ। स्वतन्त्रता माग गर्नेहरुको अहिले बहुमत छैन।
डायस्पोरामा रहेको शिख समुदायले निरन्तर रुपमा स्वतन्त्र राज्यको माग गरिरहेको छ। पछिल्ला वर्षहरुमा डायस्पोरामा स्वतन्त्रताको आवाज चर्कँदो छ।
भारतका लागि खालिस्तान मुद्दा किन संवेदनशील छ?
भारतले खालिस्तान आन्दोलनलाई पूर्णतया निषेध गरेको छ। मूलधारका सबै राजनीतिक पार्टीले हिंसा र विभाजनलाई अस्वीकार गरेका छन्। पञ्जाबका पार्टीहरु पनि हिंसा र विभाजनलाई अस्वीकार गर्छन्।
यद्यपि, तनाव दीर्घकालसम्म रहनुमा आधुनिक भारतको इतिहासमा घटेका दुई घटना महत्वपूर्ण छन्ः गोल्डेन टेम्पलमाथिको आक्रमण र इन्दिरा गान्धीको हत्या।
जुन १९८४ मा भारतीय सेनाले शिखहरुको धार्मिकस्थल ‘गोल्डेन टेम्पल’ मा आक्रमण गरेको थियो। अमृतसारस्थित यस मन्दिर परिसरमा आश्रय लिइरहेका सैन्य विभाजकारीलाई त्यहाँबाट भारतीय सेनाले लखेटेको थियो। यस आक्रमणका क्रममा धेरैले ज्यान गुमाए। त्यस्तै गोल्डेन टेम्पलमा क्षति पुग्यो।

यो आक्रमणका लागि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आदेश दिएकी थिइन्।
यस अपरेसनको केही महिनाभित्रै गान्धीलाई उनकै अंगरक्षकले हत्या गरे। ती दुई अंगरक्षक शिख थिए। यस घटनापछि चार दिनसम्म जातीय हिंसा फैलिएको थियो। जसमा हजारौं मानिस मारिए।
मारिनेमा अधिकांश शिख थिए। ३ हजारदेखि १७ हजार मानिस एक घटनामा मारिएको फरक–फरक अनुसन्धान प्रतिवेदनले औँल्याएका छन्। खालिस्तान भारतका लागि रेडलाइन हो, किनकी १९८० को दशकमा निम्तिएको हिंसाको दाग अझै छ।
शिख विभाजनविरुद्ध भारतका सबै राजनीतिक दलहरू विपक्षमा एकजुट छन्। त्यहीकारण भारतको कुनै पनि सरकारले दुईपक्षीय कूटनीतिक सम्बन्धको बहानामा खलिस्तान मुद्दालाई नजरअन्दाज गर्न सक्दैन।
हरदीप सिंह निजार को थिए?
हरदीप सिंह निजार क्यानेडेली नागरिक हुन्। ४५ वर्षीया निजारको ब्रिटिस कोलम्बिया राज्यस्थित एक शिख मन्दिरबाहिर १८ जुनमा गोली हानेर हत्या भयो।
पञ्जाबको जालन्दरस्थित भारसिंहपुर गाउँमा जन्मिएका उनी १९९७ मा क्यानडा पुगेका थिए। पहिले उनले प्लम्बरका रुपमा काम गरे। कालान्तरमा ब्रिटिस कोलम्बिया राज्यका प्रभावशाली शिख नेताको छवि बनाए।
भारतले सन् २०२० मा उनलाई आतंकवादी घोषणा गरेको थियो। भारतको पञ्जाबमा स्वतन्त्र खालिस्तानका लागि अभियान चलाइरहेको खालिस्तान टाइगर फोर्ससँगको निजारको सम्बन्धलाई आधार मानेर यस्तो निर्णय लिइएको थियो।
निजारका समर्थकहरु यो आरोप ‘पुष्टि हुन नसकेको’ बताउँछन्। उनीहरु आफ्नो अभियानका कारण निजार विगतमा पनि निशानामा परिरहेको बताउँछन्।
भारतीय मिडिया आएको समाचारअनुसार जतिबेला निजारको हतया भयो, त्यस समय उनी भारतमा स्वतन्त्र शिख राज्यका लागि अनौपचारिक जनमतसंग्रह संयोजन गर्ने काममा संलग्न थिए। पछिल्ला महिनामा ज्यान गुमाउने निजार तेस्रो प्रभावशाली शिख हुन्।
डायस्पोराका शिखलाई भारतले कसरी दबाबमा राख्छ?
भारतले शिखको ठूलो जनसंख्या रहेको तीनवटा देश (क्यानडा, अस्ट्रेलिया र बेलायत)लाई दिइरहेको दबाबका कारण अहिलेको कूटनीतिक तनाव निम्तिएको छन्। भारतले खुलयाम भनेको छः ‘शिख अतिवाद’विरुद्ध लड्न नसक्नु राम्रो सम्बन्धका लागि अवरोध हुनेछ।
अस्ट्रेलियाली अधिकारीहरुले खालिस्तानी अभियन्ताले हिन्दू मन्दिरमा पुर्याउने क्षतिबारे चुप नबस्ने बताएका छन्। अस्ट्रेलियन शिखहरुले व्यक्त गर्ने दृष्टिकोणलाई रोक्न नसक्ने उसले जनाएको छ।
नयाँदिल्लीले सबैभन्दा ठूलो आलोचना क्यानडाको गरिरहेको छ। खालिस्तान अभियानको विरोध गर्न त्यहाँको सरकार असफल भएको उसको बुझाइ छ।
क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले अहिले जारी हिंसालाई रोक्ने बताएका छन्। तर, ‘विदेशी हस्तक्षेप’ स्वीकार्य नहुने प्रष्ट पारेका छन्।
बेलायतमा गत मार्चमा प्रदर्शनकारीहरुले लन्डनस्थित भारतीय उच्च नियोगबाहिर ‘खालिस्तान’ लेखिएको ब्यानर लेखेर आन्दोलन गरेका थिए। प्रदर्शनका क्रममा पहिलो तल्लाको बार्दलीबाट एक व्यक्ति भारतीय झन्डासमेत हटाएका थिए।
–बीबीसीबाट



