काठमाडौँ– तीन दिन देखी जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको आलोचना भइरहेको छ। बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सरकारका गतिविधि र आफ्नै दलबाट मन्त्री बनेकाहरुको कार्यशैलीको आलोचना गरिरहेका छन्।
आइतबार बोल्ने केन्द्रीय सदस्यहरुले पनि सरकारबारे प्रश्न उठाएका छन्। केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नै पार्टीबाट बनेका मन्त्रीहरुले काम गर्न नसकेको आरोप लगाए। सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप पौडेलको थियो।
उनले भनेका छन्,‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन।’ उनले अर्थतन्त्र नाजुक बनिरहेको टिप्पणी गरेका छन्। महँगी १४ प्रतिशतले बढेको उनको भनाइ थियो।
‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन्। खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्यो ।’
केन्द्रीय सदस्य राजिव ढुंगानाले सरकार बारे गम्भीर समिक्षा गर्नुपर्ने माग राखे। उनले महँगी बढिरहेको तर सरकारले अनुमगन समेत गर्न नसकेको आरोप उनको थियो।
‘अहिले हामी सरकारमा मात्र छैनौं, यो गठबन्धनको मूल नेतृत्वकर्ता कांग्रेस नै हो। सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारका एक-दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस गरेका छैनन्।’
शान्ति सुरक्षाको मामलामा समेत सरकार चुकेको उनको भनाइ थियो। ‘शान्ति सुरक्षाको स्थिति ठिक छैन। हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ, उनले भने, ‘ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको छ। काठमाडौं चार वटा शव एकै ठाउँमा भेटिने घटना भएका छन्।’
केन्द्रीय सदस्य भीम पराजुलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत माथि समिक्षा गर्नुपर्ने बताए। उनले कांग्रेसलाई छानीछानी दुख दिने काम भइरहेको बताएका थिए, ‘कांग्रेसलाई छानीछानी दु:ख दिने काम भइरहेको छ। गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ। सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ,’ उनले भने। महंगी नियन्त्रणमा सरकारले कदम चाल्न नसकेको पराजुलीको भनाइ थियो।
अर्का केन्द्रीय सदस्य शिव हुमागाईंले देशमा अहिले चरम निराशाको अवस्था रहेको बताए। मुलुकमा कसैप्रति विश्वास नभएको भन्दै जनता पर्ख र हेरको अवस्थामा बताए। देश पनि अहिले भगवान भरोसामा चलेको उनले बताए।
‘यो निराशालाई बदल्न गम्भीर परिस्थितिमा महासमिति बैठक हुँदैछ। जनता बाँच्न सक्ने अवस्था छैन। आर्थिक अवस्था कहाली लाग्दो अवस्था छ’, उनले भने, ‘हामीले सरकार र पार्टी दुवैमा अनुशासनलाई कडाइका साथ लागु गरिएन भने, लापरबाही गर्ने हो भने पार्टी अघि बढ्न सक्दैन।’
देउवामाथि पनि प्रश्न
केन्द्रीय सदस्यहरुले सभापति देउवा माथि पनि प्रश्न तेर्साएका छन्। केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ मागे। उनले एक हजार जनाको कमिटी बनाएर अधिवेशन कसरी सम्भव हुन्छ? भनेर देउवालाई प्रश्न गरे।
‘एक हजारको कमीटी बनाएर अधिवेशन सम्भव हुनसक्छ?’ पौडेलले भने, ‘उनीहरु अधिवेशनका प्रतिनिधि हुन्छन् कि प्रर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुल हेरेर बस्ने हुन्छन्?’ पौडेलले अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको गुनासो गरे । अनुशासनको कारबाही गर्दा त्रुटी भएको पौडेलको भनाइ थियो।
केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ पुस्तालाई समेट्ने पार्टीको रणनीतिबारे प्रश्न गरेका छन्। उनले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए। ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन्।
सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ,’ चौधरीले भने, ‘नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन?’ पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने।
केन्द्रीय सदस्य नारायणी रायामाझीले गृह जिल्लामा भएका दुई–दुई वटा भातृ संस्थाका कार्यसमिति कुन आधिकारिक भन्दै प्रश्न उठाएकी छन्। बाराकी रायमाझीले प्रश्न गरिन्, ‘हाम्रो जिल्लामा दुईवटा महिला संघ छ, दुईवटा नेविसंघ छ, दुईवटा तरुण दल छ। दुवै कांग्रेस हुन् कुन चाहिँ आधिकारिक ?’ उनले दुवै कांग्रेस भएपनि त्यही कारण आपसी द्वन्द्व बढिरहेकाले मिलाउन केन्द्रबाट आवश्यक पहल गर्नुपर्ने बताइन्।
केन्द्रीय सदस्य नचिनेका देउवाको ठट्टा
देउवाले बैठकमा बोलिरहेका केन्द्रीय सदस्य हरिशरण नेपालीलाई चिनेनन्। नेपाली १४औं महाधिवेशनमा देउवाकै प्यानलबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। नेपालीले निर्धारित ५ मिनेटको समयमा आफ्ना कुरा सकाएनन्। समय सकिएपछि देउवाले भने,’धन्यवाद, सकियो त।’
देउवाले टुंग्याउन भनेपनि नेपाली बोलिरहे। नेपाली नरोकिएपछि देउवाले महामन्त्री विश्वप्रकाश शर्मासँग भनेका थिए, ‘यिनको नाउँ के हो? को मान्छे हुन् यिनी?’ शर्माले नेपालीको नाम देउवालाई भनिदिए। त्यसपछि देउवाको प्रश्न सकिएन र सोधे, ‘कहाँका मान्छे हुन्?’ रोचक त के छ भने नेपालीको नाम बोलाएर नै देउवाले बोल्ने समय दिएका थिए। शर्मासँग नेपालीका बारेमा जिज्ञासा राखिसकेपछि देउवाले भनेका थिए, तपाईंको सिद्धिसक्यो, माफ गर्नुस्।’
देउवाले अर्का केन्द्रीय सदस्य रामजनम चौधरीसँग पनि रोचक जिज्ञाशा राखेका थिए। चौधरी बोलिरहँदा देउवाले सोधेका थिए, ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ बैठकमा बोल्नेक्रममा उनले युवाहरु विदेश पलायन भइरहेको र युवालाई आकर्षण गर्ने कार्यक्रम पार्टीले सञ्चालन गर्नुपर्ने बताएका थिए। त्यो क्रममा उनले हामी जस्ता युवाहरु भन्ने शब्द प्रयोग गरे। त्यसलगत्तै देउवाले सोधेका थिए, ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ? हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’ देउवाको यो प्रश्न पछि बैठक हल हाँसोले गुञ्जिएको थियो। त्यसपछि देउवाले भने, ‘भयो, भयो। ठिक छ।’
देउवा केन्द्रीय सदस्यहरु बोलिरहँदा बेला-बेला प्रश्न गर्छन्। कतिपयसँग ठट्टा गर्छन्। कतिपयलाई जवाफ फर्काउँछन् र झोकिन्छन् पनि। जसका कारण हलमा हाँसो गुञ्जिने गर्छ।


