काठमाडौँ- खप्तड छेडेदह गाउँपालिका–२ जयबागेश्वरीको माटेसाँघुमा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिए।
सौरादेवीको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको उनले जानकारी दिए।
गाउँमा रहेका एक सय ६० बढी परिवारका सबै घरमा बिरामी परेका छन्।
भाइरल ज्वरोले पुरै गाउँ नै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताए।
भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको उनले बताए।
उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीयले गुनासो गरेका छन्।
ज्वरो १०३ डिग्री माथि आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन्।
गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली पठाउन लागेको स्वास्थ्य कार्यलयका निमित्त प्रमुख महेश चन्दले बताए।
खप्तड छेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधीसहितको टोली पठाउन लागेको चन्दले बताए।
भाइरल ज्वरोबाट जेष्ठ नागरिक, बालवालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन्। स्वास्थ्य चौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान समस्या भएको छ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतका अनुसार स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
‘गाउँमा ल्याब सहितको टोली पठाएका छौँ, रोगको पहिचान गरेर नियन्त्रण नभए जिल्ला, प्रदेश र सङ्घमा सहयोगका लागि जानकारी गराउँछौँ,’ उनले भने।
उता उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए।
गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो।
घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो।
लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उनको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन्।


