काठमाडौँ- एक चीन नीति लिएको नेपालले अब ‘ताइवानी स्वतन्त्रताको विपक्षमा’ नीति लिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसमेतको उपस्थितिमा भएका १३ समझदारीपछि जारी संयुक्त विज्ञप्तिमा नेपाली पक्ष ‘ताइवानी स्वतन्त्रताको विपक्षमा’ उभिने उल्लेख छ।
‘नेपाली पक्ष ताइवानको स्वतन्त्रताको विपक्षमा छ,’ संयुक्त वक्तव्यमा उल्लेख छ, ‘…ताइवान चीनको छुट्याउन नसकिने भूभाग हो।’
यसअघि पनि नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै आएको भएपनि ‘ताइवानको स्वतन्त्रताको विपक्षमा’ भन्ने विषय उल्लेख गर्ने गरेको थिएन।
नेपालले ताइवानी स्वतन्त्रताको पक्ष या विपक्षमा रहेको बताउने गरेको थिएन।
तर चीनले भने नेपाल ताइवानी स्वतन्त्रताको विपक्षमा रहेको भनेर प्रचार गर्ने गरेको थियो।
यस्तै नेपाली पक्षले तिब्बती मामला चीनको आन्तरिक विषय भएको समेत दोहोर्याएको छ।
नेपाली भूमिमा एक चीनविरोधी कुनै पनि गतिविधि कहिल्यै पनि हुन नदिने पनि नेपाली पक्षले दोहोर्याएको संयुक्त वक्तव्यमा उल्लेख छ।
यसपटक पनि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गरेको छ। तर विगतभन्दा एक कदम अघि बढेर नेपालले ताइवानको स्वतन्त्रतासम्बन्धी अभ्यासको विपक्षमा उभिने घोषणा चीनबाटै गरेको हो।
ताइवानले आफ्नो देश स्वतन्त्र भएको बताउँदै आएको छ। तर चीनले भने ताइवान आफ्नै देशको भूभाग भएको बताउँदै आएको छ।
अमेरिका ताइवानी स्वतन्त्रताको पक्षमा छ। गत वर्ष साउन १७ गते अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेकी थिइन्।
ताइवानमा अमेरिकाले सक्रियता बढाएको भन्दै त्यसबेला चीनले कडा शब्दमा अमेरिकाको विरोध गरेको थियो।
अमेरिकाले ताइवान स्वतन्त्र सार्वभौम राज्यको रूपमा रहनुपर्ने बताउँदै आएको छ ।
ताइवानको विषयमा अमेरिका र चीन आमनेसामन्ने भइरहेको त्यो बेला नेपालका लागि चिनियाँ राजदूत (तत्कालीन) होउ यान्छीले नेपाल ताइवानी स्वतन्त्रताको विपक्षमा रहेको भन्दै प्रचार गरेकी थिइन्।
सोमबार नेपाली र चिनियाँ प्रतिनिधिबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा विभिन्न १३ वटा समझदारीमा हस्ताक्षर भएको थियो।
सन् २०२५ लाई ‘चीनमा नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने समझदारी [संयुक्त वक्तव्यको पूर्णपाठ]


