काठमाडौँ- चीनमा जारी एसियन गेम्स अन्तर्गत टी-२० क्रिकेटमा नेपालले दुई कीर्तिमान बनाएको छ। मंगोलियाविरुद्ध मैदान उत्रिएको नेपालले यी दुई कीर्तमान बनाएको हो।
टी-२० अन्तर्राष्ट्रियमा नेपाली टिमले हालसम्मकै सर्वाधिक रन बनाएको हो।
मंगोलियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो। यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य हो।
यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो। अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो।
खेलमा कुशल मल्लले टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा कम बलमा शतक प्रहार गरेर अर्को रेकर्ड बनाएका छन्। उनले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।
यसअघि टी-२० अन्तर्राष्ट्रियमा ३५ बलमा शतक प्रहारको रेकर्ड बनेको थियो। दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गरेर यसअघि रेकर्ड कायम गरेका थिए। उनीहरुको रेकर्डलाई मल्लले तोडेका हुन्।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आशिफले ओपनिङ गरेका थिए। जसमा पहिलो विकेट नेपालले आशिफ शेखको रुपमा गुमाएको थियो। आशिफ १७ बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका प्रहार गरे।
७.२ ओभरमा ६६ रन भएका बेला कुशल भुर्तेल आउट भए।
रोहित पौडेलले २७ बलमा ६१ रनको पारि खेल्दा ६ छक्का र २ चौका प्रहार गरे। यसैगरी रोहितपछि आएका दीपन्द्रसिंह ऐरीले १० बल खेल्दा ८ छक्का प्रहार गरे।
उनले एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए। ऐरी ५२ रनमा नटआउट रहँदै अर्धशतकीय पारि खेल्दा कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रनमा नटआउट रहे।
कुशलले सर्वाधिक छिटो शतक र टी २० मा व्यक्तिगत तर्फ एक इनिङमा सर्वाधिक रन बनाउँने विश्वको पाँचौं खेलाडी बनेका छन्। उनले नटआउट १३७ रन बनाए। यो रेकर्डमा अस्ट्रेलियाका आरोन फिन्च रहेका छन्।
नेपालविरुद्ध मंगोलियाका इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक-एक विकेट लिएका थिए।


