काठमाडौँ- चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले कीर्तिमानी जित निकालेको छ।
समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको हो। यो टी-२० मा फराकिलो अन्तरको जित हो।
३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।
नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले मंगोलियाका २-२ विकेट लिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।
मंगोलियामा जमयानसुरेन दावासुरेनले टिमका लागि सर्वाधिक १० रन बनाए।
झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो।
यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य हो।
यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो। अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो।
खेलमा कुशल मल्लले टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा कम बलमा शतक प्रहार गरेर अर्को रेकर्ड बनाएका छन्। उनले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।
यसअघि टी-२० अन्तर्राष्ट्रियमा ३५ बलमा शतक प्रहारको रेकर्ड बनेको थियो। दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गरेर यसअघि रेकर्ड कायम गरेका थिए। उनीहरुको रेकर्डलाई मल्लले तोडेका हुन्।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आशिफले ओपनिङ गरेका थिए। जसमा पहिलो विकेट नेपालले आशिफ शेखको रुपमा गुमाएको थियो। आशिफ १७ बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका प्रहार गरे।
७.२ ओभरमा ६६ रन भएका बेला कुशल भुर्तेल आउट भए।
रोहित पौडेलले २७ बलमा ६१ रनको पारि खेल्दा ६ छक्का र २ चौका प्रहार गरे। यसैगरी रोहितपछि आएका दीपन्द्रसिंह ऐरीले १० बल खेल्दा ८ छक्का प्रहार गरे।
उनले एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए। ऐरी ५२ रनमा नटआउट रहँदै अर्धशतकीय पारी खेल्दा कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रनमा नटआउट रहे।
कुशलले टी २० मा व्यक्तिगत तर्फ एक इनिङमा सर्वाधिक रन बनाउने विश्वको पाँचौं खेलाडी पनि बनेका छन्। उनले नटआउट १३७ रन बनाए। यो रेकर्डमा अस्ट्रेलियाका आरोन फिन्च छन्।
नेपालविरुद्ध मंगोलियाका इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक-एक विकेट लिएका थिए।


