काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्न टिकट पाएका डा स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन्।बिहीबार मात्र कांग्रेस त्यागेको घोषणा गरेका वाग्लले शनिबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन्।
‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्नँ। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’ पत्रकार सम्मेलनमा वाग्लेले भने।
देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ थियो। वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताए। पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको उनको भनाइ छ।
पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताएका उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए। राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको उनले बताए।
‘अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन। हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ? मालदार मन्त्रालयमा त १०औं करोडको डिल हुन्छ भन्ने छ,’ उनले थपे, ‘यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ। त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ। त्यो भनेको सुशासनको पहिलो खुड्किला हो।’
डा वाग्लेले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा तनहुँबाट विजयी हुने दाबी गरे। उनले आफू पछि फर्किने नभई अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए।


