काठमाडौँ- दोलखाको सिंगटीबाट बुधबार प्रहरीले अवैध रूपमा आयात गरिएको ४ किलोग्राम सुन बरामद गरेको थियो।
उक्त सुनबारे सोधिखोजी गर्दा थप ३ किलो अवैध रूपमा पैठारी गरिएको सुन बरामद भएको छ।
बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्काले जानकारी दिए।
४ किलो सुनसहित ५ जना पक्राउ परेका थिए। तीमध्ये एक थिए बिगु–१ घर भई बिगु-३ मा बसोबास गर्दै आएका २८ वर्षीय केशर तामाङ। उनको डेरामा खानतलासी गर्दा थप ३ केजी सुन भेटिएको डिएसपी खड्काले जानकारी दिए।
सुन ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ पनि गरेको छ। पछिल्लो पटक पक्राउ पर्नेमा बिगु–१ का राज तामाङ छन्।
यसअघि यो प्रकरणमा बिगु गाउँपालिका–१ का २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


