काठमाडौँ- अभिनेता अनमोल केसीमाथि १ करोड १५ लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।
फिल्म बनाउने भन्दै आपराधिक विश्वासघात गरी उक्त रकम असुलेको आरोप केसीमाथि लागेको हो।
केसीले रकम असुली गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेको थियो।
उक्त जाहेरीका आधारमा कार्यालयको टोलीले भक्तपुरको साँगाबाट शुक्रबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।
‘उक्त प्रकरणमा केसीलाई पटक-पटक छलफलमा आउन बोलायौं,’ कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले नेपाल क्लिक्ससँग भने, ‘तर, नआएपछि पक्राउ गर्नुपरेको हो।’
केसी आफ्नै कारमा काभ्रेबाट काठमाडौं फर्किँदै थिए। कार्यालयको टोलीले उनको कार साँगामा रोकेको थियो।
‘काभ्रेमा के काम वा प्रयोजनका लागि गएका थिए, स्पष्ट खुलेको छैन,’ रेग्मीले भने।
केसीले ‘रावायण’ फिल्म बनाउने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको खुल्न आएको प्रहरीको भनाइ छ।
‘अहिलेसम्मको अनुसन्धानमा १ करोड १५ लाख रुपैयाँ लिएको आरोप लागेको छ,’ कार्यालयका प्रवक्ता रेग्मीले भने।
केसीविरूद्ध प्रारम्भिक रूपमा चन्द्रकला कटवालले जाहेरी दिएकी थिइन्। उनले केसीले आपराधिक विश्वासघात गर्दै १० लाख रुपैयाँ असुली गरेको जाहेरीमा उल्लेख गरेकी थिइन्।
जाहेरीमाथि अनुसन्धान गर्दै जाँदा कटवालसहित अन्य व्यक्तिबाट केसीले उक्त रकम असुलेको पाइएको रेग्मीले बताए।
केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्रका आधारमा केसीविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो।
अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन्। भुवनले बनाएको फिल्म ‘ड्रिम्स’बाट अनमोल केसीले चलचित्रमा डेब्यू गरेका थिए। उक्त फिल्म अमेरिकामा समेत सुटिङ गरिएको थियो।
अमेरिकामा रहँदा भुवनले १० लाख रुपैयाँ एक महिलाबाट लिएका थिए।
फिल्म ‘हिट’ भएपछि अनमोल नेपाली सिने जगतमा चर्चामा आए। फिल्म चले पनि भुवनले उनले उक्त रकम फिर्ता नगरेको भन्दै ती महिला नेपाल आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीलाई प्रशासनले जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको थियो।। तर, त्यो घटना भुवनले ‘सामसुम’ पारे।
उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनेत्री थिइन्। भुवनले आफूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप शाहले लगाएकी थिइन्।



