काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ।
बैठक आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
उता एमालेले भने बैठकमा विरोध गर्ने तयारी गरेको छ। सुन तस्करी प्रकरणमा सरकारले जाँचबुझ आयोग बनाउने सहमति गरेपनि उल्लंघन गरेको भन्दै एमालेले विरोध गर्ने तयारी गरेको हो।
भदौ ६ गते आयोग बनाउने सहमति भएपछि संसदको अवरोध खुलेको थियो। आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो। तर हालसम्म पनि आयोग गठन हुन सकेको छैन।


