काठमाडौं- सुन तस्करी प्रकरणको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ आयोग गठन गरेको हो।
कानुनमन्त्री धनराज गुरुङले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन भएको जानकारी दिए।
‘जाँचबुझ आयोग गठन भएको छ, यसको कार्यावधि तीन महिनाको हुने छ,’ गुरुङले नेपाल क्लिक्ससँग भने।
समितिका सदस्यमा पूर्वएआइजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी रहेका छन्।
आइतबार बिहान सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बालुवाटारमा भएको छलफलमा आयोग गठनबारे सहमति जुटेको थियो।
यो आयोगले इलेक्ट्रोनिक्स सिगरेट (भेप)बाट ल्याइएको ९ किलो, साउन २ गते बरामद भएको ६० किलो सुनलगायत हालसम्म सुन तस्करीबारे अनुसन्धान गर्ने छ।
त्यस्तो तस्करीमा संलग्नलाई कारबाहीको सिफारिस आयोगले गर्ने छ।
तस्करीजन्य कार्यको नियन्त्रणका लागि मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधारलगायत विषयमा पनि आयोगले काम गर्ने छ।


