काठमाडौं- म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘जी’ को आफ्नो दोस्रो खेलमा आरबी लिपजिगमाथि ३-१ को सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
अन्तिम समयमा सब्सटिच्युट खेलाडी जुलियन अल्भारेज र जेरेमी डोकुले गोल गर्दा सिटीले सहज त हासिल गर्यो।
पछिल्लो समय कार्वाओ कपमा न्युक्यासल युनाइटेड र प्रिमियर लिगमा वल्भेससँग हारेको सिटीका लागि च्याम्पियन्स लिगको यो खेल बहुप्रतीक्षित मानिएको थियो। उसले आफ्नो बिग्रिएको ट्र्याकलाई सुधार्दै पहिलो हाफमा खेल पूर्ण रूपमा नियन्त्रणमा राखेको थियो।
२५ औं मिनेटमा सिटीले रिको लेविसको ‘कट ब्याक’ मा फिल फोडेनले कठिन एंगलबाट टिमलाई प्रारम्भिक अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमा नै जर्मन क्लबले खेल बराबरीमा ल्यायो। लोइस ओपेन्डाले टिमले गरेको एकमात्र सट अन टार्गेटलाई गोलमा परिणत गर्दा खेल बराबरीमा पुगेको थियो।
तर त्यसपछि पनि सिटीले निरन्तर आक्रमण गर्यो। फोडेनको प्रहार पोलमा लाग्दा अर्लिङ हालान्डले पनि महत्त्वपूर्ण गोलका मौका सदुपयोग गर्न सकेनन्। तर बेन्चबाट मैदान छिरेको पाँच मिनेटमा नै अर्जेन्टिनी स्टार अलभारेजले डोकुको पासलाई सदुपयोग गर्दै ८४ औं मिनेटमा सिटीलाई अग्रता दिलाए।
इन्जुरी समयमा अल्भारेजको पासलाई डोकुले गोलमा परिणत गर्दा सिटी ३-१ ले अघि रह्यो।
सिटीले युरोपियन च्याम्पियन्स लिगमा आफ्नो सर्वाधिक लामो अपराजित यात्रालाई जारी राख्ने इंग्लिस क्लबको कीर्तिमान बराबरसमेत गरेको छ। यसअघि लिड्स, टोटेनह्याम, चेल्सी र वेस्टह्यामले १६ खेलसम्म अपराजित रहेका थिए। सिटीले पनि आफ्नो यात्रा १६ खेलसम्म पुर्याएकाे छ।


