काठमाडौं– कजरिया रमेश टायल्स लिमिटेडले नेपालमै गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा लगानी गर्ने सम्बन्धमा सहभागी बैंकहरुबीच वित्तिय सहजीकरण गर्ने कार्य भएको हो ।
अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र रमेश कर्प कम्पनीका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष समारोहकबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबीआइ बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. ४०० करोडमध्ये सह–वित्तियकरण अन्तर्गत रु. ३०० करोड लगानी रहनेछ । विश्वको ७ औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतकोे संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ ।
मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।


