काठमाडौँ- चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्।
असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।
९ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै अर्धशतक पूरा गरेर उनले कीर्तिमान बनाएका हुन्।
यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा थियो। भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए।
विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले उनलाई पदोन्नति दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।
खेलाडी ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध हुनुहुन्छ । यसअघि उनी प्रहरीमा जवान पदमा थिए।


