काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देउवा समूहमा आफू नेतृत्वको गुटलाई विलय गराएर चुपचाप बसेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गत साउन तेस्रो साता देखि सक्रिय बनेका छन्। १३औं महाधिवेशनमा सभापति लडेर कांग्रेसभित्र तेस्रो धार बनाएका सिटौला १४औं महाधिवेशनमा भने सभापति लडेनन्।
देउवा समूहबाटै आफू निकट प्रदीप पौडेलललाई महामन्त्री र उमाकान्त चौधरीलाई सह-महामन्त्रीको उम्मेदवार बनाएपछि सिटौला गुट विलय भएको टिप्पणीहरु हुँदै आएका थिए। त्यसो त १३औं महाधिवेशनमा सभापति चुन्न भएको दोस्रो चरणमा सिटौलाले देउवालाई गरेको सहयोग, त्यसपछिका गतिविधि र १४औं महाधिवेशनमा आफ्ना मान्छेलाई देउवाकै टिमबाट लडाउने निर्णयले पनि यस्ता टिप्पणी गर्नेहरुलाई बल पुगेको थियो।
१४औं महाधिवेशन भएको दुई वर्ष वित्नै लाग्दा सिटौलाले फेरी देशव्यापी गतिविधि थालेका छन्। उनले साउन तेस्रो साताबाट आफू निकट ‘टक सेन्टर’बाट गतिविधि गर्दै आएका छन्। देशका सात वटै प्रदेशमा ‘टक सेन्टर’ मार्फत् कार्यक्रम गर्ने योजना अनुसार काठमाडौं, विराटनगर, जनकपुर र धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिसकेका छन्। अन्य प्रदेशमा कार्यक्रम गर्ने तयारीमा ‘टक सेन्टर’ छ। ‘टक सेन्टर’ सिटौला निकट केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राई र बागलुङ कांग्रेस सभापति जीतबहादुर शेरचन लगायतको अगुवाइमा खुलेको संस्था हो। जसको कार्यालय महाराजगञ्जमा छ। ‘टक सेन्टर’ मार्फत हुने कार्यक्रम संविधान कार्यान्वयनका सन्दर्भमा मात्रै केन्द्रीत भएको केन्द्रीय सदस्य काफ्ले बताउँछन्। ‘अभियान संविधान कार्यान्वयनका सन्दर्भमा मात्रै केन्द्रीत छ। संविधान कार्यान्वयन र जनप्रतिनिधिको भूमिकाका विषयमा छलफल बहस गरिरहेका छौं। संविधान पूर्ण कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको छ। जनताका दुःख, समस्या ज्यूँका त्यूँ छन्। त्यसको सम्बोधनका लागि संविधानको पूर्ण कार्यान्वयन आवश्यक छ। हाम्रो अभियान यसमै फोकस छ, यसबाहेक अन्य उद्देश्य छैन,’ काफ्लेले भने।
तर, ‘टक सेन्टर’का गतिविधि काफ्लेले दाबी गरे जस्तो मात्रै छैन। पार्टी र राष्ट्रिय राजनीतिमा अलिक ओझेल पर्दै गएका सिटौलाको कमब्याक हुने रणनीतिसँग पनि ‘टक सेन्टर’का गतिविधि केन्द्रीत छन्। ‘ठ्याक्कै यही हो त म भन्दिनँ। तर एउटा नेताले गर्ने गतिविधि उसको राजनीतिक रुची र रोडम्यापसँग त जोडिन्छ नै,’ टक सेन्टरमा आवद्ध एक नेता भन्छन् ‘पक्कै पनि सिटौला दाइले यसबारे केही न केही सोचेको हुनुपर्छ।’
१३औं महाधिवेशनपछिका सिटौला
पार्टी राजनीतिमा मात्रै नभएर राष्ट्रिय राजनीतिका कतिपय जटिल विषयलाई सुल्झाएका सिटौला ‘संकटका नेता’ भनेर चिनिन्छन्। तर, १३औं महाधिवेशन पछि भने उनको राजनीतिक भूमिका र छवी अलिक छायामा परेको थियो। शान्तिप्रकियामा सिटौलाको भूमिका महत्वपूर्ण मानिन्छ। तत्कालिन गृहमन्त्रीको हैसियतमा राजा ज्ञानेन्द्रसँग वार्ता गरेर नारायणहिटी खाली गराउने काम उनै सिटौलाले गरेका थिए। त्यो बेला उनी कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र थिए। त्यही बेला कोइरालाले सुम्पिएको जिम्मेवारीलाई कुशलापूर्वक निभाएर थप विश्वास आर्जन गरेका थिए। तर्कशील र समन्वयकारी प्रस्तुतिका कारण जुनसुकै विषयमा असहमति राख्नेहरुलाई सहमतिलमा ल्याउन सक्ने ल्याकत सिटौलाले देखाएका थिए। सोही कारण उनी नेपाली राजनीतिमा लामोसमय ‘प्ले मेकर’को भूमिकामा रहे। जसको पुष्टि संविधान निर्माणमा उनले खेलेको भूमिकाले पनि गर्छ। कुनै बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको पुल बनेका सिटौलाले सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानको मस्यौदा लेखेका थिए।
कोइरालाहरु कांग्रेस नेतृत्वमा रहँदा उनीहरुको विश्वासपात्र बनेका सिटौला सुशील कोइरालाको निधनपछि भने तत्कालिन संस्थापन समूहमा अडिन सकेनन्। सुशीलले नै उनलाई कांग्रेसको महामन्त्री बनाएका थिए। तर, १३औं महाधिवेशनको पूर्वसन्ध्यामा सुशीलको निधन भयो। त्यसपछि भने उनले संस्थापन समूहमा विद्रोह गरे।
१३औं महाधिवेशनमा तत्कालिन संस्थापन समूहबाट सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई उनको सहयोग रहेन। उनी छुट्टै समूह खडा गरेर सभापति लडेका थिए। सभापति चुनिन ५१ प्रतिशत मत ल्याउनु पर्ने कांग्रेसको वैधानिक व्यवस्था छ। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारकाबीचमा पुनः प्रतिस्पर्धा हुन्छ। तेस्रो बनेर पहिलो चरणबाट सभापतिको प्रतिस्पर्धाबाट रिङआउट बनेका सिटौलाले दोस्रो चरणमा पौडेलाई छाडे, देउवालाई रोजे। देउवा सभापति चुनिए। त्यसपछि सिटौलाले पार्टीमा राम्रै भाग पाए। त्यो बेला सिटौला नेतृत्वको समूह जता लाग्यो उतै पल्लाभारी हुने स्थिती थियो। त्यसको भरपुर फाइदा सिटौलाले उठाएका थिए। तर, १४ औं महाधिवेशन नजिकिँदै गर्दा उनको समूहको शक्ति कमजोर हुँदै गयो। १३औं महाधिवेशनमा सिटौलाकै टिमबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका हालका महामन्त्री गगन थापाले साथ छाडे। थापाले साथ छाडेपछि सिटौलाका प्रमुख सारथी बनेका थिए-प्रदीप पौडेल। सोही कारण १४औं महाधिवेशनमा सिटौलाले पौडेललाई देउवाको महामन्त्रीको उम्मेदवार बनाएका थिए। महामन्त्रीमा पौडेल पराजित भए। देउवाको प्यानलबाट सिटौला निकट उमाकान्त चौधरी भने सह-महामन्त्रीमा निर्वाचित भएका थिए। योसँगै सिटौला कोशी प्रदेशमा उद्धव थापालाई सभापति बनाउन सफल भएका थिए।
देउवासँग उनको सम्बन्ध सुमधुर नै रहेका कारण सिटौलाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू निकट नेताहरुलाई टिकट दिलाएका थिए। उनले आफू सहित प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईँ, भीमसेनदास प्रधान, देउमान थेवे लगायतलाई टिकट दिलाएका थिए। तर, निराशाजनक परिणाम हात लागेको थियो। काठमाडौं-५ बाट पौडेल बाहेकका बाँकी सबै उम्मेदवार पराजित बने। सिटौलाले १३औं महाधिवेशनपछि भएका दुवै चुनाव झापा-३ हार्न पुगेका छन्। दुवै चुनावमा सिटौलालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरे।
प्रतिनिधिसभामामा निराशाजनक नतिजा हात लागेपनि प्रदेशसभा तर्फ उनी निकट कुन्दनराज काफ्ले, जित शेरचन, उद्वव थापा, भूपेन्द्र राई लगायतले जितेका थिए। सिटौलाले काफ्लेलाई बागमती प्रदेशसभाको प्रमुख सचेतक (अहिले राजिनामा दिइसकेका) र प्रदेशमा महामन्त्री भुपेन्द्र राईलाई कोसी प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतक बनाएका थिए।
यता प्रतिनिधिसभामा टिकट पाएका आफू निकट नेताहरु मध्ये चुनाव जित्ने एकमात्रै नेता पौडेल माथि सिटौलाको भरोसा थप बलियो हुँदै थियो। तर, २०७९ पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा सिटौलाले भरोसा गरेका पौडेलले साथ छाडे। संसदीय दलको चुनावमा पौडेलले देउवालाई सहयोग गरुन् भन्ने चाहाना सिटौलाको थियो। तर उनले देउवा विरुद्ध उठेका महामन्त्री थापाको समर्थक बस्न पुगे।
राष्ट्रिय राजनीतिमा विस्तारै ओझेल पर्दै गएका सिटौलाको शक्ति पौडेलले साथ छाडेपछि थप क्षयिकरण भएको थियो। तर, यही बीचमा पार्टीले चार प्रदेशको मुख्यमन्त्री पाउँदा सिटौलाले देउवाबाट कोशी प्रदेशको मुख्यमन्त्री उम्काएका थिए। तर, पहिलो पटक सभामुखको हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनेका थापाको पद अदालतले खोसिदियो। दोस्रो पटक विश्वासको मत लिँदा सभामुखले समेत मत हालेपछि पुनः उनको पद अदालतले खोसिदिएको छ।
पुनः सक्रियताको अर्थ
राजनीतिमा नेताले गर्ने सोच-विचार, बोल्ने भाषा र गर्ने गतिविधिले खास अर्थ राख्छ। आर्जेको शक्तिमा निरन्तर भइरहेको क्षयीकरणका कारण राष्ट्रिय र पार्टीको राजनीतिमा छाया पर्दा बढेको नैरश्यताकाबीच सिटौलाले ‘टक सेन्टर’ मार्फत अघि बढाएको सक्रियताको पनि अर्थपूर्ण देखिन्छ।
नेता सिटाैला निकटहरुका अनुसार ‘टक सेन्टर’ लाई मियोमा राखेर उनले आफूप्रति कार्यकताको आकर्षण परीक्षण गर्ने मात्र होइन उनीहरुका इच्छा आकांक्षा तथा गुनासाहरु सुन्न चाहन्छन्। केन्द्रमा आफूलाई अलिक बलियो बनाउन सकियो भने मोफसलको राजनीतिक मनोदशा र भरथेगको परीक्षणमा रहेका सिटौलालाई पुनः सक्रिय हुनुपर्ने एउटा बाध्यात्मक परिस्थिति पनि रहेको कहिँकतै छिप्दैन।
१३औं महाधिवेशनमा कांग्रेसको फस्ट म्यान बन्ने असफल प्रयाससँगै १३औं र १४औं महाधिवेशनमा लगाएको गुन राष्ट्रपति निर्वाचनमा देउवाले तिर्ने अपेक्षामा पानी फेरिएपछि सिटौलाले रणनीतिकरुपमा देशव्यापी सक्रियता बढाएको देखिन्छ। सिटौला यसपटक राष्ट्रपतिको उम्मेदवार बन्न इच्छुक थिए। कांग्रेसबाट हालका राष्ट्रपति पौडेल र सिटौलाको नाम चर्चामा थियो। सिटौला राष्ट्रपतिका आकांक्षी रहेको सभापति देउवाले त्यसबेला शीर्ष नेताको बैठकमा समेत सुनाएका थिए। तर अन्तिमसम्म पुग्दा राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा सिटौलालाई पौडेलले उछिने। आफूले विश्वास गरेका नेताहरुबाट पाएको धोका, चुनावमा भोगेको पराजय, पार्टीमा खुम्चिँदै गएको भूमिका, राष्ट्रपतिको बन्ने धोको अधुरै रहँदा सिटौलामा राजनीतिक नैरश्यता देखिएको उनी निकट नेताहरु बताउँछन्।
त्यही बेला उनले तल्लो तहका जनता-कार्यकर्ता माझ जाने योजना बनाएका थिए। अभियान सुरु हुनुअघि उनले संचारकर्मीहरुलाई सुनाए अनुसार अभियान मार्फत उनले पार्टी रुपान्तरणको सन्देश लिएर फर्कनेछन्। ‘तल्लो तहमा जाँदा आफू जाने, भाषण गर्ने र हिँड्ने प्रचलन छ। तर, म यसपटक सानो सानो एकाइमा पुग्छु। भाषण वा विचार लाद्ने होइन जनता र साथीहरूको कुरा सुन्छु। ग्रासरूटको चाहना बुझ्छु र त्यसअनुसार पार्टी रूपान्तरणको सन्देश लिएर फर्कन्छु,’ सिटौलाले भनेका थिए। यसको अर्थ उनी तल्लो तहका नेता-कार्यकर्ता माझ भिज्न चाहान्छन्, उनीहरुका कुरा सुन्न चाहान्छन्। आफ्नो शक्ति र शाखलाई फर्काउन चाहान्छन्। जसले आफ्नो शक्ति र शाखलाई फर्काउन मद्दत गरोस्।
पार्टी र राष्ट्रिय राजनीतिमा पनि पुनः एकपटक बलशाली देखिन चाहन्छन् सिटौला। ०८२ सालमा हुने कांग्रेस महाधिवेशनअघि पार्टीभित्र नयाँ राजनीतिक समिकरण बन्ने संकेतहरु देखिएका छन्। हिजोका समूहमा रहेका नेताहरुको स्थान पनि गुटगत हिसावले अदलबदल हुनसक्ने चर्चा कांग्रेसभित्र चलिरहेको छ। सभापति शेरबहादुर देउवा अबको अधिवेशनदेखि पार्टी नेतृत्वबाट विदा हुनेभएपछि उनको समूहको अगुवाइ र यता संस्थापन इतर समूहमा पनि प्रवेश गरेको अविश्वासको तरङ्गबारे कांग्रेसजनहरु पर्याप्त चर्चा गरिरहेका छन्। ‘नेता सिटौलामा अझै पनि केन्द्रमा समिकरण मिलाउन सकियो भने दलको नेतृत्वमा पुग्न सकिन्छ कि भन्ने आशा छ’ नेता सिटौलासँग अलिक बाक्लै संगत भएका एक नेता भन्छन्, ‘अहिले उनमा यही आशा जागृत भएको हो।’ उनका अनुसार सिटौला यदि नेतृत्वमा पुग्ने रोडम्याप सम्भव नहुने देखेमा उनी कुनै न कुनै बेला प्राप्त हुने संवैधानिक पद प्राप्त गर्ने प्रयासमा लाग्नेछन्। त्यसैले त उनी आफ्नो इच्छा, चाहाना र रणनीतिबारे खासै खुल्दैनन्। उनको मुखबाट यतिमात्रै फुत्किन्छ, ‘१५ औं महाधिवेशनमा कसैलाई सघाउँछु वा आफैं उठ्छु। त्यो महाधिवेशनको वर्षले नै तय गर्छ। त्यसका लागि सोच्न एक वर्ष नै काफी हुन्छ।’



