काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन्। विद्यालय शिक्षा विधेयक, २०८० माथि प्रतिनिधि सभामा शुक्रबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
विद्यालय शिक्षा र शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै उनले धेरै कुरा सोच्न पर्ने बताए। विधेयकमा व्यापक हेरफेर गर्न जरुरी रहेको उल्लेख गरे। शिक्षा विधेयक निजी विद्यालयलाई पास्नका लागि ल्याइएको हुन सक्ने उनको आशंका छ।
‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयकको पुनःलेखनको आवश्यकता छ। यसमा व्यापक हेरफेर गर्न जरुरी छ। यसमा व्यापक संशोधन हाल्न जरुरी छ,’ सांसद यादवले भने।
विधेयकमा गरिएका कतिपय व्यवस्था निजी विद्यालयलाई पोस्नका लागि ल्याइएको उनको आशंका थियो।
‘यो विधेयक सामुदायिक विद्यालय विस्थापन गर्न त आएको होइन?,’ उनको प्रश्न थियो, ‘निजी विद्यालयले एक दिन आन्दोलन गर्दा सरकारले घुँडा टेकेको थियो। तर एक सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठीचार्ज गर्न बाध्य किन भयो त?’
शिक्षकहरुको आन्दोलन जायज भएकाले शिक्षकहरुसँग गरिएको सम्झौता अक्षरशः पालना गर्नुपर्ने उनको भनाइ छ। शिक्षा विधेयक संसदको हातमा आएकाले संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
विधेयकमा स्वार्थसमूह हाबी भएको उनको भनाइ छ। मन्त्रिपरिषद्ले पारित गरेको विधेयकको मस्यौदा संसदमा आइनपुग्दै हेराफेरी भएको कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको र यो गम्भीर विषय भएको भन्दै उनले संसदको ध्यानाकर्षण गराएका थिए।


