काठमाडौँ- ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँले शुक्रबार यस्तो आदेश दिएको हो।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।
सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।
सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।
भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
यो मुद्दामा बिगो मागदाबी ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ गरिएको छ।
मुद्दा दर्ता भएकामा चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, लि वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मी छन्।
यस्तै कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ र रूकमिना सुब्बा छन्।
कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार रहेका छन्।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त सुन गाल्दा ६० किलो ७१६ ग्राम भएको थियो।
उक्त सुन रेडी ट्रेड प्रालिले ल्याएको ब्रेक सुमा फेला परेको थियो।
रेडी ट्रेडले हालसम्म ३६२.७७८ किलो सुन ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ। तर थप सुन बरामद नभएकाले झन्डै ६१ किलो सुन तस्करीका लागि मात्र बिगो मागदाबी गरिएको हो।
ब्युरोले दोस्रो चरणमा पनि यो प्रकरणको अनुसन्धान जारी रहेको बताउने गरेको छ।
सुन तस्करीको अनुसन्धानमा शंकैशंका : पूर्वउपराष्ट्रपतिका छोराले पाए ‘क्लिनचिट’, महरालाई छैन सोधीखोजी



